तालिबानकाे क्रुरुता कायमै , स्वतन्त्र मिडियामाथि बन्देज

काबुल । तालिबान समूहले आफ्नो अत्याचारको पर्दाफास गर्ने कुनै पनि स्वतन्त्र मिडिया र पत्रकारमाथि आक्रमण गर्ने गरेको सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन्। गत अगस्ट १५ मा सरकार हातमा लिएपछि तालिबानले अफगानिस्तानमा मिडियाको स्वतन्त्रतामाथि अंकुश लगाएको र तथ्यहरू प्रकाशन गर्न बन्देज लगाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लोपटक तालिबानले काबुल–जलालावाद राजमार्गबाट जाबिया न्युजको लोगो हटाएको छ। यसको जानकारी मिडिया स्पेसले आफ्नो ट्विटर ह्यान्डलमार्फत सेयर गरेको छ। उसले भनेको छ, ‘तालिबानले काबुल–जलालावाद राजमार्गमा रहेको जाबिया मिडिया लोगो हटाएको छ।’ मिडियाविज्ञहरूले तालिबानले आफ्नो अत्याचार र सत्यलाई उजागर गर्ने कुनै पनि स्वतन्त्र मिडिया आउटलेटलाई नसहने भनेको र यसले त्रास फैलिएको टिप्पणी गरेका छन्।
पछिल्ला केही समययता तालिबानले काबुल र मुख्य सहरमा घर सर्च अभियान चलाएको छ। जहाँ पूर्ववर्ती सरकारको सुरक्षा निकायमा कार्यरत धेरै नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको छ। तालिबानले घरघरबाट हतियारहरू खोसेका छन्। पक्राउ परेका पूर्वसुरक्षाकर्मी तथा सुरक्षा अधिकारीहरूलाई हिरासत र जेलमा लगेर तालिबानले यातना दिन थालेको स्थानीय सञ्चारकर्मीहरूलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।
