भारतद्वारा हंगेरी र पोल्यान्डबाट नेपाली उद्धार

सेयर गर्नुहोस


एजेन्सी ।
युद्धग्रस्त युक्रेनबाट शनिबार साँझसम्म पाँच सय २२ जना नेपाली बाहिरिएका छन् । दश दिनदेखि युक्रेनमा जारी रुसी हमलाबाट उत्पन्न त्रासका बीच थप ६ जना नेपाली बाहिरिने क्रम जारी छ । तीबाहेक युक्रेनको भूभागमा नेपालीहरू नरहेको नेपाली राजदूतावासले जनाएको छ । हालसम्म सातजना नेपाली स्वदेश आइपुगेका छन् । यीमध्ये दुईजना हंगेरीबाट भारतीय उद्धार उडानमार्फत र बाँकी पाँचजना आफ्नै खर्चमा आइपुगेका हुन् । पोल्यान्डबाट एकजना नेपाली भारतीय उद्धार उडानमार्फत दिल्ली पुगेका छन् ।

युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काका अनुसार शनिबारसम्म चार सय २७ नेपाली नागरिक पोल्यान्ड पुगेका छन् । उनीहरूमध्ये विभिन्न सरकारी शिविरहरूमा शनिबार एक सय ३५ जना बसेका छन् । युक्रेनबाट शनिबारसम्म ७१ जना स्लोभाकिया, २७ जना रोमानिया र सातजना हंगेरी पुगेका छन् । ‘अहिलेसम्म आठजना नेपाली स्वदेश फर्किएको वा फर्किने क्रममा बाटोमा हुनुहुन्छ’ राजदूत खड्काले बर्लिनबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘पाँचजना नेपाली आफ्नो खर्चमा स्वदेश फर्किनुभएको छ । हंगेरीमा रहेका दुईजना भारतको उद्धार उडानबाट दिल्ली हुँदै स्वदेश फर्किनुभएको छ । पोल्यान्डबाट शनिबार एकजना भारतीय उद्धार उडानबाट दिल्लीतर्फ लाग्नुभएको छ ।’

खड्काका अनुसार स्वदेश फर्किन चाहनेहरूलाई भारतीय उद्धार जहाजमार्फत व्यवस्था भएको छ । भारतीय राजदूतावासहरू तथा भारतीय विदेश मन्त्रालयसँगको समन्वयमा भारतीय उद्धार उडानमा नेपाली नागरिक फर्काउने बन्दोबस्न मिलाइएको खड्काले जानकारी दिए । खड्काका अनुसार युक्रेनमा रहेका ६ जना मात्रै बाहिर निस्कन बाँकी छ । स्टारोबेल्सस्थित बंकरमा बसेका उनीहरू आइतबार पोल्यान्ड सीमातर्फ निस्कने तयारी गरेका छन् । राजदूत खड्कासँग उनीहरू सम्पर्कमा छन् । ‘युक्रेनमा समस्या देखिनासाथ उहाँहरू हामीसँग सम्पर्कमा आउनुभएको थियो, तर उहाँहरू निस्किन ढिलो गर्दा समस्यामा पर्नुभयो,’ राजदूत खड्काले भने, ‘उहाँहरूलाई युक्रेनबाट बाहिर निकाल्न सहजीकरण गरिरहेका छौँं । सम्भवतः आइतबारसम्म पश्चिम सीमानामा आइसक्नुहोला ।’ उनीहरूलाई मेडिकाबाहेकका सीमाबाट पोल्यान्ड पुग्न राजदूत खड्काले अनुरोध गरेका छन् ।

राजदूत खड्काले ६ जनाबाहेक युक्रेनमा नेपालीहरू सम्पर्कमा नरहेको बताए । ‘अब बाँँकी नेपाली युक्रेनमा छौँ भन्ने जानकारी नदिएकाले युक्रेनमा बाहिर निस्कनुपर्ने वा निस्कन बाँकी नेपाली हुनुहुन्न भन्ने बुझेका छौँ,’ खड्काले भने, ‘बाहिर निस्कनका लागि पनि अब सीमा क्षेत्रमा खासै चाप छैन । हामीले ६ जना नेपालीलाई पनि मेडिकाबाहेकका सीमाबाट पोल्यान्ड प्रवेश गर्नुस् भनेका छौँ । त्यहीअनुसार पोल्यान्डका अधिकारीहरूसँग पनि समन्वय गरिरहेका छौँ ।’ युक्रेनको भयावह स्थितिमा पनि केही दलालहरूले दिल्ली हुँदै युक्रेन लैजाने नाममा नेपालीसँग काठमाडौं र दिल्लीमा पैसा असुल्न थालेको भन्दै सतर्क हुन राजदूत खड्काले आग्रह गरेका छन् ।

Facebook Comments Box