कांग्रेस मकवानपुरको पदाधिकारीमा संस्थापनइतर हाबी

सेयर गर्नुहोस

हेटौंडा । नेपाली कांग्रेसको मकवानपुरको पदाधिकारीमा संस्थापनइतर हाबी भएको छ। सोमवार भएको जिल्ला अधिवेशनबाट कुल ६ पदाधिकारीमध्ये पाँचजना संस्थापनइतरबाट विजयी भएका छन्।

संस्थापन पक्षको नेतृत्व बुद्ध लामा र संस्थापनइतरको नेतृत्व जयराम लामिछानेले गरेका थिए। कुल १ हजार ७७१ मत गणना हुँदा उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन्। कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गरेका छन्। दुवै संस्थापनइतरका हुन्। उपसभापतिका उम्मेदवार गोपीलाल विश्वकर्माले ५४२, रामबाबु बानियाँ ४८७, भीम लामाले ४६३, रमेश गिरी ३५३, चन्द्रबहादुर पौडेल ८२ मत प्राप्त गरेका छन्।

सचिवमा विजयी दुवैजना संस्थापनइतरका हुन्। भीमसेन महत ८१३ र ईश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भएका हुन्। संस्थापन पक्षका यतिराज सापकोटा ५४८, अर्जुनप्रसाद चौलागाईंले ३९७, प्रदीप कोइराला ३६८ र मानबहादुर पाटा मगरले २५० मत प्राप्त गरे।

दुई सहसचिवमा संस्थापनका एक र संस्थापनइतरबाट एकजना विजयी भएका छन्। संस्थापनइतरबाट इन्दिरा न्यौपाने र संस्थापनबाट ताराचन्द्र बजगाईं विजयी भएका छन्। न्यौपानेले ८५० र बजगाईंले ५६२ मत प्राप्त गरेका थिए। सहसचिवका उम्मेदवार मीरा स्याङतान ५२०, रत्नबहादुर गोले ४१४, अर्जुनप्रसाद तिवारी ३६२, कृष्णप्रसाद दाहाल २६९ र सुमन कार्की १२६ मत प्राप्त गरेका छन्।

सभापतिका लागि भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सहमतिबाट बुद्व लामा सभापतिमा चयन भएका थिए। सभापतिका तीनजना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत नआएपछि पुनः मतदान गर्ने तयारी भएको अवस्थामा लामाको पक्षमा सहमति जुटेको थियो। दोस्रो चरणमा संस्थापन पक्षका लामा र अर्का उम्मेदवार आनन्दराम पराजुलीबीच प्रतिस्पर्धा हुने तय भएको थियो। सभापतिका प्रत्यासी पराजुलीले पहिलो चरणमा सबैभन्दा धेरै मत पाएका लामालाई समर्थन गरेपछि दोस्रो चरणको चुनाव नगरी सभापतिको छिनोफानो लागेको थियो।

Facebook Comments Box