रुस–युक्रेन वार्ता : युद्धविराम भएन, छिट्टै अर्को वार्तामा बस्ने सहमति

एजेन्सी ।
रुस र युक्रेनले जारी संघर्ष समाप्तिका लागि बेलारुसमा वार्ता गरेका छन् । तर, युक्रेनले युद्धविरामका लागि गरेको आग्रह रुसले अस्वीकार गरेको छ । यद्यपि, दुवै देशले वार्ता जारी राख्ने र केही दिनमै अर्को चरणको वार्ता गर्ने सहमति गरेका छन् ।
वार्ता जारी रहँदै गर्दा युक्रेनको राजधानी किभ र अर्को सहर खार्किवमा रुसले मिसाइल हमला गरेको छ । वार्ताकै बीच हमला बढेकाले रुस युद्धलाई थप चर्काउने तयारी गरिरहेको अनुमान छ । तनाव बढ्दै गएको र पाँच लाख मानिसले युक्रेन छाडेर छिमेकी देश पुगेको राष्ट्रसंघले बताएको छ ।
युक्रेनी सेनाका अनुसार वार्ता सुरु हुनुभन्दा केही समयअघि आक्रमणको गति सुस्त बनाएको रुसले वार्ता सुुरु भएसँगै भने युद्धलाई थप चर्काउँदै गएको छ । वार्ताटोलीमा युक्रेनका थुप्रै उच्चपदस्थ अधिकारी समावेश भए पनि राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की भने सरिक छैनन् । रुसी वार्ताटोलीमा को–को सहभागी छन् भन्ने खुलाइएको छैन ।
रुसलाई युक्रेनमाथिको आक्रमण रोक्न चौतर्फी दबाब पर्न थालेको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनसँग डेढ घन्टा लामो टेलिफोन कुराकानी गरेर तत्काल युद्धविरामका लागि दबाब दिएको उनको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रसंघको महासभामा युक्रेनमाथिको विशेष सत्रलाई सम्बोधन गर्दै युद्ध जसरी पनि रोकिनुपर्ने भनेका छन् । ‘युक्रेनमाथि जल, थल र आकाश चारैतिरबाट भइरहेको आक्रमण अहिल्यै रोकिनुपर्छ । युक्रेनका सहरहरूमा रुसी मिसाइल एवं गोलाबारुद दिनरात बर्सिरहेका छन् । राजधानी किभलाई चारैतिरबाट घेरा हालिएको छ,’ गुटेरेसले भने । उनले रुसले आवासीय भवनका साथै अन्य महत्वपूर्ण गैरसैन्य पूर्वाधारहरूलाई पनि निसाना बनाइरहेको प्रमाण आफूसँग रहेको दाबी पनि गरेका छन् ।
संयुक्त राष्ट्रसंघकी मानव अधिकार उच्चायुक्त मिचेल बचेतेले रुसी आक्रमणबाट युक्रेनमा अहिलेसम्म एक सय दुई सर्वसाधारणको मृत्यु र तीन सय चारजना घाइते भएको बताएकी छन् । मर्नेहरूमा सात बालबालिका पनि छन् । यद्यपि, युक्रेनको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने अहिलेसम्म तीन सय ५२ सर्वसाधारण मारिएको उल्लेख छ । रुसी सेना र युक्रेनी सुरक्षाबलमा के–कति हताहती भयो भन्ने तथ्यांक भने अहिलेसम्म बाहिर आएको छैन ।
