एमाले र गठबन्धनसँग प्रधानमन्त्री अझै सशङ्कित, समानान्तर छलफललाई निरन्तरता

सेयर गर्नुहोस

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेसँगको समानान्तर छलफललाई निरन्तरता दिनुभएको छ ।अमेरिकाले दिएको समयसीमा पर्सि १६ गते सकिने भएकाले भोलि बस्ने संसद् बैठकबाटै एमसीसी अनुमोदन गराउने उहाँको तयारी छ ।

एमसीसीमा सकेसम्म राष्ट्रिय सहमति नभए बहुमत मात्रै भए पनि जुटाउने कसरतमा रहनुभएका देउवा अहिलेसम्म दुवै पक्षबाट सहयोग पाउनेमा विश्वस्त भइसक्नुभएको छैन । पछिल्लोपटक माओवादी केन्द्र र एकीकृत समाजवादीले मतदानको बेला संसदमा अनुपस्थित भएर एमसीसी पारित गर्न सहयोग गर्ने वचन दिएका छन् । तर पहिले पनि यस्तै वचन दिएर पछि एमसीसी फेल गराउन लागेको भन्दै प्रधानमन्त्री देउवा अझै ढुक्क हुन सक्नुभएको छैन । एमालेले पहिलेदेखि नै राख्दै आएको सभामुखको राजीनामाको माग र १४ सांसदमाथिको कारबाहीका विषयमा सरकारको ठोस धारणा मागेको छ ।

एमालेको माग तत्काल पूरा गर्न जटिल हुने र एमालेसँग मिल्दा जुनसुकै बेला पनि समर्थन फिर्ता लिएर ठूलो दलको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न सक्ने देउवालाई डर छ । त्यसैले एमालेसँग निरन्तर छलफल गरे पनि देउवा निचोडमा पुग्न सक्नुभएको छैन । हिजो र अस्ति लगातार छलफलमा जुटेका कांग्रेस र एमालेबीच आज पनि छलफल हुँदैछ ।

कांग्रेस र एमालेबीच लगातार बैठक हुन थालेपछि झस्किएका माओवादी र एकीकृत समाजवादी पुरानो अडानबाट केही लचिलो भएका छन् । कांग्रेससँगको गठबन्धन टुटेमा आउँदो चुनावमासमेत असर पर्ने भएपछि दुवै दललले मध्यमार्गी विकल्पमा एमसीसी टुङ्ग्याउने र गठबन्धन जोगाउन प्रयास गर्ने निर्णय गरेका छन् । संसद् बैठकमा अनुपस्थित भएर एमसीसी पास गर्न सहयोग गर्ने दुवै दलले बताएका छन् ।

हिजो प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग एमसीसी पास हुने विश्वस्त आधारविना गठबन्धन कायम गरेर अघि बढ्न नसकिने जवाफ दिनुभएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी प्रस्तावमाथि संसदमा छलफल हुँदै गर्दा आफ्ना सांसदहरू बैठक बहिष्कार गरेर निस्कने र एमसीसी पास गर्न सरकारलाई त्यसले सहयोग पुग्ने वचन दिनुभएको थियो । तर एमसीसी पास गर्ने विश्वस्त आधार गठबन्धनमा नदेखिएको निष्कर्षसहित देउवाले एमालेसँगको छलफललाई अगाडि बढाउनुभएको हो । भेटमा एमालेले आफ्ना माग पूरा गर्न सरकार तयार भए एमसीसीमा सकारात्मक बन्दै स्पष्ट धारणा र निर्णय दिन तयार रहेको बताएको छ ।

हिजोको भेटवार्तामा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले एमालेले विगतदेखि नै राख्दै आएका सभामुखको राजीनामाको माग र १४ सांसदमाथिको कारबाहीका विषयमा सरकारको ठोस धारणा मागेको जानकारी दिनुभयो । ओलीले एमाले र कांग्रेस धेरै ठूलो सङ्घर्ष गरेर लोकतन्त्रको स्थापनामा अघि बढेकाले लोकतन्त्रको यात्रामा पनि सँगै सहयात्रा हुनुपर्ने बताउनुभएको थियो ।

Facebook Comments Box