भारतले युक्रेनबाट नागरिक उद्धार गर्दै
काठमाडौं ।
भारतले पश्चिम युक्रेनको लेभिब सहरमा आफ्ना नागरिक जम्मा गर्न थालेको छ । त्यहाँबाट पोल्यान्ड, हंगेरी, रोमानियासहितका अन्य युरोपेली मुलुक हुँदै उनीहरूलाई उद्धार गर्ने भारतको तयारी छ । शुक्रबार युक्रेनका लागि भारतीय राजदूतावासले ट्राभल एड्भाइजरी जारी गर्दै यो जानकारी दिएको छ ।
भारत सरकारले युक्रेनमा रहेका भारतीयहरूलाई देखिने गरी भारतीय झन्डाको ब्यानरसहित गाडीमा पश्चिम युक्रेन पुग्न आग्रह गरेको छ । युक्रेनबाट बाहिरन भारत सरकार र त्यहाँ रहेको दूतावासले रुटको बन्दोबस्त गरिरहेको र यसबारे रुसी तथा युक्रेनी अधिकारीहरूसँग समन्वय भइरहेको भारतले जनाएको छ । बिहीबार रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग टेलिफोन कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनमा रहेका भारतीयहरूको सुरक्षामा चासो राखेका थिए ।
भारतीय दूतावासले विद्यार्थीहरूलाई त्यहाँ आफ्नो एजेन्टसँग सम्पर्कमा रहन भनेको छ । पासपोर्ट तथा अमेरिकी डलरमा मुद्रा बोक्न आग्रह गरेको छ । कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा राख्न र गाडीमा भारतीय झन्डाको ब्यानर टाँसेर यात्रा गर्न आग्रह गरेको छ ।
