चीनले ओली र प्रचण्डलाई मिलाउन सक्ने भए पहिल्यै मिलाइहाल्थ्यो नि !”: मन्त्री यादव
![]()
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेता एवं कृषि मन्त्री महेन्द्र राय यादवले आफ्नो पार्टीले एमसीसीको पक्षमा सर्वसम्मत निणय गर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “आज हाम्रो राष्ट्रिय कार्यकारिणी समितिको बैठकले सर्वसम्मत रुपमाले एमसीसीको पक्षमा निर्णय गर्ने प्रबल सम्भावना छ । उपेन्द्र यादवले के भन्नुहुन्छ, त्यो उहाँको विषय हो । तर हामी सरकारमा छौं । सरकारले एमसीसी संसद्मा टेबुल गराएपछि त्यसको पक्षमा जानु नैतिक कर्तव्य हुन्छ ।” एमसीसीकै कारण हिमाल, पहाड, तराई जोड्ने वैकल्पिक दल विभाजित हुने कल्पना नगरेको पनि उनले बताए ।
एमसीसीको सवालमा चीनले कुनै पनि दबाब दिनु उचित नहुने पनि उनले स्पष्ट पारे । यादवले भने, “कुन देशले कता दबाब दिन्छन्, त्यो आफ्नो ठाउँमा छ । तर एमसीसी सहमति वा सम्झौता प्रक्रियामा सबै दलहरु सहभागी छन् । देशको आन्तरिक मामला राजनीतिक दलहरुले आफैं हल गर्नुपर्छ । तर कुनै पनि देशले नेपालको आन्तरिक राजनीतिमा खुलेर लाग्नु जरुरी छैन । चीनको खुलेआम दबाब कसरी उचित हुन सक्छ र ?”
चीनले कम्युनिस्टहरुलाई एमसीसीको विपक्षमा उभिन दबाब दिएको भन्ने कुरा पनि आएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा यादवले भने, “वाम गठबन्धन पहिले पनि थियो । हिजो सरकार चलाउन पनि सकेनन् । वाम गठबन्धन टुट्दा हिजो चीन कहाँ थियो ? पहिले पनि केपी ओली र प्रचण्डलाई मिलाउँदा भैहाल्थ्यो नि । किन मिलाएन ? उनीहरुबीच सिद्धान्त र विचार मिलेको भए एउटै कम्युनिस्ट पार्टी भइहाल्थ्यो नि । १७ वटा पार्टी किन बन्थे र ?”
५ दलीय सत्ता गठबन्धन टुट्नु देश र जनताका लागि दुःखद भएको मन्त्री यादवको प्रतिक्रिया छ । उनले थपे, “हिजो हाम्रो पार्टीका नेता बाबुराम भट्टराईसँग मैले प्रधानमन्त्रीसँग भेटेको थिएँ । हामीले हिजो संसद् किन रोकियो । यसको प्रगति र सम्भावना के छ भनेर कुरा गरेका थियौं । प्रधानमन्त्रीले साँझ ७ बजे एमालेसँग हाम्रो कुराकानी हुन्छ भन्नुभयो । हिजो के कुरा भयो, थाहा छैन । तर ५ दलीय सत्ता गठबन्धन टुट्नु हुँदैनथ्यो । यो देश र जनताका लागि दुःखद हो ।” (रिपोटर्स नेपाल)
