चिनियाँ नागरिकको अवैध धन्दा : नेपालबाट भारतमा ऋण प्रवाह

काठमाडौं ।
ऋणका लागि इजी क्रेडिट, फ्री क्यास, ह्यान्डी लोन, गो लोन, रुपी स्टार, हाई क्यासलगायतका मोबाइल एप्सको विकास, दुई चिनियाँसहित एक सय १६ नेपाली पक्राउ
नेपाली भूमि प्रयोग गरी भारतमा त्यहाँका नागरिकलाई गैरकानुनी ढंगले ऋण प्रवाह गर्ने धन्दामा चिनियाँ नागरिकसमेत संलग्न रहेको खुलेको छ । दुई चिनियाँ नागरिक रंगेहात पक्राउ परेपछि यो तथ्य खुलेको हो । पक्राउ पर्नेमा चाङ हु बाओ र वाङ जिनाओ छन् । बाओलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सोमबार पुरानो बानेश्वरबाट पक्राउ गरेको हो । जिनाओलाई भने महानगरीय प्रहरी परिसर भक्तपुरले सानोठिमीबाट मंगलबार पक्राउ गरेको हो । दुवैजना तीन महिनाअघि पर्यटन भिसामा नेपाल आएका थिए ।
चिनियाँ नागरिकले ऋण प्रवाहका लागि इजी क्रेडिट, फ्री क्यास, ह्यान्डी लोन, गो लोन, रूपी स्टार, हाई क्यासलगायतका मोबाइल एप्स नै विकास गरेका थिए । सोही एप्सबाट उनीहरूले भारतीय नागरिकलाई चर्काे ब्याजमा ऋण प्रवाह गर्दै आएका थिए । रकम दिन नमाने धम्की दिने गर्थे । धन्दामा उनीहरूले नेपाली नागरिकलाई प्रयोग गर्दै आएको पाइएको छ । अनुसन्धानमा संलग्न काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले गैरकानुनी ढंगले ऋण प्रवाह धन्दामा संलग्न चिनियाँ नागरिक पक्राउ परेको जानकारी दिए । ‘गैरकानुनी ढंगले विदेशी नागरिकबाट भारतमा ऋण प्रवाह भइरहेको सूचना आएपछि हामीले निगरानी राखेका थियौँ । यस्तो कार्यमा संलग्न चिनियाँसहित नेपाली नागरिक पनि पक्राउ परेका छन्,’ उनले भने ।
गैरकानुनी ढंगले विदेशी नागरिकबाट भारतमा ऋण प्रवाह भइरहेको सूचना आएपछि हामीले निगरानी राखेका थियौँ । यस्तो कार्यमा संलग्न चिनियाँसहित नेपाली नागरिक पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ऋण प्रवाहका लागि उनीहरूले काठमाडौंं र भक्तपुरमा कार्यालय नै खोलेका थिए । बाओले पुरानो बानेश्वरस्थित गैरीगाउँ घरै लिएका छन् । धन्दा चलाउन उनले सिन्धुलीका दीपक श्रेष्ठको नाममा ‘लेमन ग्रुप अफ कम्पनी’ नामक कम्पनी खोलेका थिए । कम्पनीमा उनले ३६ नेपाली युवा÷युवतीलाई नियुक्त गरेका थिए । त्यस्तै, जिनाओको कम्पनी भने सानोठिमीमा थियो । उनले पनि नेपाली युवाकै नाममा कम्पनी दर्ता गराएका थिए । काम गर्न उनले पनि ८० जना नेपाली युवा÷युवती नियुक्त गरेका थिए । दुवै कम्पनीमा संलग्न युवा÷युवतीलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानका लागि सबैविरुद्ध पाँच दिनको म्याद थपिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेले करिब डेढ महिनादेखि उनीहरूले धन्दा चलाउँदै आएको जानकारी दिए । ‘गैरकानुनी ढंगले ऋण प्रवाह गरेको अभियोगमा चिनियाँ नागरिकसहित नेपाली युवायुवती पक्राउ परेका छन् । धन्दाको मास्टर माइन्ड चिनियाँ नागरिक रहेको देखिन्छ । नेपाली युवायुवतीलाई प्रयोग गरी उनीहरूले करिब डेढ महिनादेखि यस्तो काम चलाउँदै आएको पाइयो,’ उनले भने ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले भक्तपुर र काठमाडौंबाट पक्राउ परेका चिनियाँ नागरिकले ऋण प्रवाहका लागि प्रयोग गरेको तौरतरिका एउटै भएकाले धन्दाको मास्टर माइन्ड एकै समूह भएको हुन सक्ने बताए । ‘फरक–फरक ठाउँबाट दुई चिनियाँसहित नेपाली पक्राउ परेका छन् । उनीहरूले सञ्चालन गरेको धन्दाको तौरतरिका एकै खालका छन् । त्यसैले यो धन्दामा एउटै समूह सक्रिय भएको जस्तो देखिन्छ । अन्य ठाउँमा पनि यस्तो कार्य सञ्चालन गरिएको हुन सक्ने देखिएकाले प्रहरी उच्च निगरानीमा छ,’ उनले भने ।
एप्समार्फत भारतीयलाई ऋण
प्रहरीका अनुसार चिनियाँ नागरिकले एप्समार्फत भारतीय नागरिकलाई सम्पर्कमा ल्याउँथे । ऋण दिने भन्दै भारतीय नागरिकलाई अनलाइनमार्फत नै फारम भर्न लगाउँथे । फारम भर्दा फोटो, रासन कार्ड, सम्पर्क नम्बरलगायतका कागजात अनिवार्य रूपमा लिन्थे । सोही कागजातका आधारमा उनीहरूले एप्समार्फत भारु तीन हजारदेखि ३० हजारसम्म ऋण उपलब्ध गराउँथे । त्यसबापतको ब्याज ऋण दिँदा बखत नै असुल्थे । ऋण चुक्ताको अवधि भने सात दिन मात्रै हुन्थ्यो । सात दिनभित्र ऋण नतिरे फोटो र रासन कार्ड सामाजिक सञ्जालमा भाइरल बनाइदिने भन्दै धम्की दिने गर्थे । ऋण चुक्ता नगर्ने ऋणीलाई धम्काउनकै लागि उनीहरूले नेपाली युवायुवतीलाई प्रयोग गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।
१५ देखि १८ हजार तलबमा नियुक्त थिए नेपाली युवा
चिनियाँ नागरिक चाङ हु बाओ र वाङ जिनाओले कम्प्युटरमा सिद्धहस्त नेपालीलाई कम्पनीमा नियुक्त गरेका थिए । एप्समार्फत ऋण प्रवाह गर्ने र समयमा ऋण नतिर्ने भारतीय नागरिकसँग टेलिफोनमार्फत डिल गर्नु उनीहरूको काम थियो । समयभित्रै ऋण उठाएबापत उनीहरूलाई निश्चित कमिसन पनि उपलब्ध हुन्थ्यो । त्यसबाहेक मासिक तलब प्रतिव्यक्ति १५ देखि १८ हजार रुपैयाँसम्म उपलब्ध गराउँदै आएका थिए । भक्तपुर परिसरका प्रवक्ता डिएसपी पाण्डेले भने, ‘यिनीहरूले मोबाइल एप्समार्फत ऋण उपलब्ध गराई सात दिनभित्र असुल्थे । ऋण नतिर्नेहरूलाई धाकधम्की दिन्थे । यसैका लागि नेपाली युवालाई नियुक्त गरेको देखिन्छ । यसका लागि उनीहरूले प्रतिव्यक्ति १५ देखि १८ हजारसम्म तलब दिने गरेको खुलेको छ ।’
ई–जुवा ऋण लगानी
काठमाडौं उपत्यकाभित्र पछिल्लो समय एप्समार्फत खेलिने जुवा, वेटिङ, बुगीलगायतका धन्दा भित्रभित्रै फस्टाउँदो छ । प्रवाह भएका ऋण सोही क्षेत्रमा प्रयोग हुन सक्ने प्रहरीको अनुमान छ । ‘उपत्यकाभित्र एप्समार्फत खेलिने जुवा, वेटिङ, बुगीलगायतका अनलाइन गेम फैलिरहेको विगतका घटनाले पुष्टि गर्छ । सोही धन्दामा यस्ता ऋण प्रयोग हुने गरेको हाम्रो अनुमान छ,’ काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीले भने ।
प्रहरीका अनुसार चिनियाँ नागरिकले नेपालीलाई प्रयोग गरी अवैध तरिकाले ऋण प्रवाह गर्ने धन्दा काठमाडौंबाहेकका अन्य सहरमा पनि विस्तार गरेका छन् । विशेष गरी चितवन, पोखरा, विराटनगर, वीरगन्ज, बुटवलजस्ता ठूला सहरमा यस्ता धन्दा सञ्चालन हुँदै आएका छन् । कम्पनी दर्ता गरेरै उनीहरूले यस्ता धन्दा चलाउने गरेको प्रहरीको दाबी छ । यस्तो कार्यमा संलग्न हुनेहरूलाई कारबाही गर्न नेपालको विद्यमान कानुन पर्याप्त नहुने भएकाले दिनप्रतिदिन फस्टाएको प्रहरीको भनाइ छ ।
नेपाल राष्ट्र बैंक भन्छ– बैंकबाहेक अन्यले ऋण प्रवाह गर्न मिल्दैन
चिनियाँ नागरिकले भारतमै रहेका त्यहाँका नागरिकलाई ऋण प्रवाह गरेका छन् । यो धन्दामा पीडित भारतीय नागरिक जाहेरी दिन नेपालसम्म आउँदैनन् । यस्तो धन्दामा प्रवाह भएको रकमको ट्रान्ज्याक्सनलाई नेपाली बैंकिङ प्रणालीले चिन्दैन । त्यसैले यस्ता धन्दामा संलग्न हुनेहरूलाई कारबाही गर्न विद्यमान कानुन पर्याप्त नभएको प्रहरीको भनाइ छ । तर, राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भने यस्तो कार्यमा संलग्न हुनेहरूलाई कारबाही गर्न सकिने बताउँछन् । ‘ऋण प्रवाह गर्न र ब्याज असुल्न तोकिएको बैंक र वित्तीय संस्थाबाहेक अन्यले गर्न पाउँदैन । चिनियाँ नागरिकको हकमा राष्ट्र बैंकबाट अनुमति नलिई ऋण प्रवाह र असुल गरेको देखिन्छ । त्यसैले यो गैरकानुनी हो । उनीहरूलाई कारबाही गर्न सकिन्छ,’ उनले भने ।
