चिनियाँ नागरिकले दुबईबाट ४ करोड मूल्यको सुन नेपाल ल्याउन ६५ हजार ज्याला पाउंछन

सेयर गर्नुहोस

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माघ २९ गते झण्डै ४ करोड रुपैयाँ मूल्य बराबरको ४ सय १४ तोला सुनसहित एक चिनियाँ नागरिक पक्राउ परे । अनुसन्धानको क्रममा पक्राउ परेका चिनियाँ नागरिक झ्याङ लीले आफू भरिया मात्रै भएको दाबी गरिरहेका छन् । दुबईबाट नेपालसम्म सुन भित्र्याउन २ हजार दिराम (दुबईको पैसा) करिब ६५ हजार नेरु पाउने आशामा आफूले सुन बोकेको बयान प्रहरीलाई दिएका छन् ।

तर, उनले दुबईमा चिनेको मानिस को हुन् भन्ने खुलाएका छैनन् । ‘दुबईमा चिनेका व्यक्तिले नेपालसम्म चार सय १४ तोला सुन पुर्‍याए बापत २ हजार दिराम दिने बताए पछि मैले सुन बोकेर आएको हुँ,’ लीको बयान उदृत गर्दै स्रोतले अनलाइनखरसँग भन्यो ।

झण्डै ५ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
नेपालमा सुन ल्याउन नपाइने व्यवस्थाबारे आफू जनाकार नभएको दाबी पनि झ्याङ लीले गरेको भन्सार स्रोतले बतायो । नेपाल आगमनको ‘ट्राभल हिस्ट्री’ बाक्लो रहेका उनले सिलसिलेवार सुन बोकेर नेपाल आएको आरोप भने अस्वीकार गरेका छन् ।

तस्करले भन्सारको प्राविधिक कमजोरी जाँचेको अनुमान

चिनियाँ नागरिक झ्याङ लील २०७८ मंसिर १५ देखि माघसम्म ८ पटक नेपाल आएको र फर्केको ट्राभल हिस्ट्री अनुसन्धानमा पाइएको छ । हरेक पटककमा सुन बोकेर नेपाल आएको हो भन्ने ? अनुसन्धान अधिकारीको आरोप झ्याङ लीले अस्वीकार गरी रहेकाछन् तर भन्सार अधिकारीहरु उनको बयानमा विश्वस्त बन्न सकिरहेका छैनन् ।

‘चिनियाँ नागरिकले बोकेको सुन भन्सारको मेटल डिटेक्टरले चाल नपाउनु र छोटो समयमै धेरै पटक आउजाउ हुनुले उनी कि त सुन बोकेरै नेपाल आइरहेका थिए, कि भन्सार प्रणालीको कमजोरी जाँच गरिरहेका थिए,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।पक्राउ गरेको २४ दिनसम्म अनुसन्धान गर्न पाइने कानुन अनुसार आइतबार १० औं दिनसम्म पनि झ्याङ लीमाथि अनुसन्धान भइरहेको भन्सारले जनाएको छ । ‘अहिले हामी चिनियाँ नागरिकले बोक्ने एनसेल फोनको कल डिटेल्स्को पर्खाइमा छौं । थप रहस्य खुल्नेमा विश्वस्त छौं’ एक अधिकारीले भने ।

फेरियो भन्सारको मेटल डिटेक्टर

२९ माघमा पक्राउ परेका चिनियाँ नागरिकले शरीरमा बोकेको ठूलो परिमाणको सुन मेटल डिटेक्टर पास गरेर अघि बढेपछि गरिएको खानतलासीमा मात्रै बरामद भएको थियो । धुल्याएर केमिकल प्रयोग गरी लेदो बनाएर ल्याइएको सुन मेटल डिटेक्टरले पहिचान नगरेको विमानस्थल भन्सारले जनाएको छ ।

सुन पहिचान नगरेको एक नम्बर गेटको मेटल डिटेक्टर विमानस्थलमा उपलब्ध मध्येबाट फेरिएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले बताए । ‘विमानस्थलमा तीन वटा मेटल डिटेक्टर रहेछ, यात्रुको चाप बढी हुने एक नम्बर गेटमा हामीले भएकामध्ये प्रभावकारी मेटल डिटेक्टर लगाएका छौं,’ भन्सार प्रमुख भट्टराईले भने । नेपालमा उपलब्ध मध्ये सबैभन्दा प्रभावकारी सुरक्षा प्रणालीको मेटल डिटेक्टरबारे विभागलाई जानकारी गराउन आपूर्तिकर्तालाई आह्वान गरिएको पनि भन्सारले जनाएको छ । सार्वजनिक खरिद प्रक्रियाको झन्झटिलो प्रक्रियाका कारण अत्यधुनिक नयाँ मेटल डिटेक्टर आउन चार महिनासम्म लाग्न सक्ने उनले बताए ।

गत माघ २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट झण्डै पाँच किलो सुनसहित झ्याङ ली नामक चनियाँ नागरिक पक्राउ परेका थिए । दुबईबाट हिमालयन एअरलाइन्सको उडान नम्बर एच ९५६६ बाट काठमाडौं आएका उनले ३ करोड ९६ लाख २७ हजार ७ सय रुपैयाँ बराबरको सुन बोकेका थिए ।

Facebook Comments Box