पाकिस्तानले अनुमति नदिएपछि भारतले अफगानिस्तानमा ५० हजार टन गहुँ पुर्‍याउन अझै विलम्ब हुने

सेयर गर्नुहोस

 

एजेन्सी । अफगानिस्तानमा अत्यन्तै जाडो र मानवीय संकटका कारण लाखौँ मानिसहरू भोकमरीको सामना गरिरहे पनि भारत र पाकिस्तानबीचको कर्मचारीतन्त्रको विलम्बले गर्दा ५० हजार टन गहुँ अझै पुग्न सकेको छैन। गत अक्टोबरमा भारतले अफगानिस्तानलाई ५० हजार टन गहुँ उपलब्ध गराउने निर्णय गरेको थियो।

भारतबाट गहुँ बाघा हुँदै अटारीसम्म तथा त्यहाँबाट अफगानिस्तान पाकिस्तान सीमाबिन्दु तोर्खामसम्म सडकबाट लैजान प्रयास भएको थियो। तर, चार महिना पुग्न लाग्दा पनि गहुँ पुगेको छैन। जाडोअघि अफगानी नागरिक कहाँ गहुँ पुग्न कठिन हुने देखिएको छ। पाकिस्तानले अनुमति नदिँदा ढिलाइ भएको भारतीय आरोप छ। तर, पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता असिम इप्तिखारले पहिलो चरणमा केही गहुँ फेब्रुअरी अन्तिमसम्म ढुवानीका लागि अनुमति दिइने बताए।

भारतका लागि अफगानिस्तानका राजदूत फरिद मामुन्दजेले पाकिस्तानले भारतबाट गहुँ ढुवानीका लागि सहयोग गर्ने आश्वासन दिएको भारतीय सञ्चारमाध्यमलाई बताएका थिए। उनले नै पहिलो ढुवानी फेब्रुअरी १० र १२ बीचमा जाने भनेका थिए। तर, अझै गहुँ ढुवानी हुन सकेको छैन। जनवरीमै पाकिस्तानले भारतलाई जानकारी दिएको भनिएको थियो।

स्रोतलाई उदृत गर्दै निक्की एसियाले प्रकाशित गरेको समाचारअनुसार डिसेम्बर अन्तिम साता पाकिस्तानले पहिलो खेपको विवरण, पठाउने मिति र अफगानिस्तानमा पुर्याउनुपर्ने ट्रक तथा चालकहरूको विस्तृत सूची पठाउन भनेको थियो। पाकिस्तानले अफगान रसद कम्पनी र भारतीय अधिकारीहरूबीच समन्वय गर्न पाकिस्तानमा केन्द्रबिन्दु स्थापना गर्न पनि आग्रह गरेको थियो। इस्लामाबादले तोर्खामको यात्राका लागि भिसा र ट्राभल परमिट तथा रुटमा सुरक्षा व्यवस्था मिलाउने वचन दिएको थियो। तर, कार्यान्वयनमा ढिलाइ भएको छ।

भारतले अफगानिस्तानलाई मानवीय सहायता उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका छन्, ‘गहुँ खरिद गर्ने र ढुवानीको व्यवस्था गर्ने प्रक्रिया अझै चलिरहेको छ।’ सुरुमा पाकिस्तानले गहुँ पाकिस्तानी ट्रकमा आफ्नो भूमिमा ओसारपसार गर्न चाहेको थियो। तर भारतले आफ्नै वा अफगानिस्तानका गाडीहरू प्रयोग गर्ने भनेको थियो। सुरुमा अफगान ट्रक प्रयोग गर्ने भनिए पनि पछि पाकिस्तानले आफ्नै गाडीमा लैजान चाहेको बताइएको छ।

सन् २०१९ पछि पाकिस्तानले भारतलाई अफगानिस्तानमा कुनै पनि वस्तु निर्यात गर्न अनुमति दिएको छैन। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ५० हजार टन गहुँ सहायताको हकमा भने यसको अपवाद हुने बताएका छन्। पाकिस्तानले अफगानिस्तानमा मानवीय सहायताका लागि भारतबाट गहुँ पठाउन सहजीकरण गरिदिने खालको आश्वासन छ। तर, उनको भनाइ कार्यान्वयन भएको छैन।

गहुँ ढुवानीमा भएको ढिलाइप्रति काबुलमा तालिबान शासन निरास छ। रसियामा अक्टोबरमा भएको मस्को–ढाँचा बैठकको साइडलाइनमा तालिबान नेताहरूलाई भारतले केही आश्वासन दिएको थियो। परराष्ट्र मन्त्रालयका सहसचिव जेपी सिंहको नेतृत्वमा रहेको भारतीय प्रतिनिधिमण्डलले अफगानिस्तानका उपप्रधानमन्त्री अब्दुल सलाम हनाफीसँगको भेटमा व्यापक मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका थिए। निक्की एसियाका अनुसार पाकिस्तानले ३५ ट्रकबराबरको सहायता तोर्खामबाट अफगानिस्तानलाई गत डिसेम्बरमा हस्तान्तरण गरेको थियो।

Facebook Comments Box