चीनले विरोधका नाममा हिंसाका लागि उक्साएको अमेरिकी आरोप

काठमाडौं /फाल्गुण ६।
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसपिसी) सम्झौताबारे नेपालको राजनीतिक वृत्त ध्रुवीकृत भइरहेका वेला यही विषयमा अमेरिका र चीनले एक अर्कालाई लक्षित गर्दै अभिव्यक्ति सार्वजनिक गरेका छन्। बेइजिङबाट चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता तथा नेपालबाट अमेरिकी राजदूतले नेपालमा एमसिसीका विषयमा एकअर्कालक्षित टिप्पणी गरेका छन्।
नेपालमा अमेरिकाले जबर्जस्ती कूटनीति सञ्चालन गरेको चिनियाँ आरोप छ। चीनले विरोधका नाममा हिंसाका लागि उक्साएको अमेरिकी आरोप छ। एमसिसीको विरोधमा नेपालमा चीनको संलग्नता रहेको अमेरिकी अधिकारीहरूको आरोप लगाइरहेका वेला चीन र अमेरिका आमनेसामने भएर प्रतिक्रिया व्यक्त गरेका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले एमसिसीका नाममा अमेरिकाले नेपालमाथि जबर्जस्ती कूटनीति सञ्चालन गरेको आरोप लगाउँदै नेपालमा राजनीतिक सर्तहरूविनाको अन्तर्राष्ट्रिय सहयोगका पक्षमा चीन रहेको बताएका छन्। चिनियाँ पत्रिका ग्लोबल टाइम्स अनलाइनले प्रवक्ता वेनविनले शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा यो धारणा राखेको उल्लेख गरेको छ।
‘अमेरिकाले नेपाललाई एमसिसी फागुन १६ सम्म अनुमोदन गर्न आग्रह गरेको समाचारमाथि टिप्पणी गर्दै चीनले जबर्जस्ती कूटनीतिको विरोध गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्,’ ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनले नेपालको आर्थिक विकास तथा जीविकोपार्जनमा योगदान पुर्याउने गरी हुने गरेको अन्तर्राष्ट्रिय समुदायको सहायताको स्वागत गर्दछ। तर, यो राजनीतिक सर्तविना नेपाली जनताको चाहनाअनुसार हुनुपर्छ।’ विकासको आफ्नै बाटो रोज्ने र आफ्नो हितअनुकूलको निर्णय गर्ने नेपाली जनताको निर्णयलाई चीन समर्थन गर्दछ। नेपालको विकासमा चीनले सहयोग जारी राख्नेछ।’
अमेरिकी राजदूतले भने : हिंसा स्वीकार्य छैन
अमेरिकी राजदूत रेन्डी बेरीले सामाजिक सञ्जाल ट्विटरमा शुक्रबार धारणा राख्दै एमसिसीलगायतका विषयमा तथ्यमा आधारित सार्वजनिक बहस तथा स्वतन्त्र अभिव्यक्तिको हामी बलियो समर्थक हौँ,’ आफ्ना विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तरनिहित पक्ष हो र जनतालाई शान्तिपूर्ण रूपमा विचार अभिव्यक्त गर्न दिनैपर्छ। हिंसा तथा हिंसाका लागि उक्साहट कहिल्यै स्वीकार्य छैन।’
