भारतमा रक्षा उद्योगमा आत्मनिर्भर बन्न प्रोत्साहन गरिएकाेले उद्योगी उत्साहित

एजेन्सी ।
भारतको चालू आर्थिक वर्षको बजेटमा रक्षा क्षेत्रका लागि स्वदेशी उद्योगको आधुनिकीकरणका लागि ६८ प्रतिशत रकम विनियोजन भएको छ । निजी क्षेत्रलाई समेत रक्षा अनुसन्धानका लागि यसले सहयोग पुग्ने जानकारहरूको टिप्पणी छ । बजेटले भारतीय सेना तथा अन्य सुरक्षा निकायलाई हतियार प्रणाली उपलब्ध गराएर भारतलाई आत्मनिर्भर बन्न प्रोत्साहन गरेको उद्योग क्षेत्रका अगुवाहरूको भनाइ छ ।
उनीहरूको भनाइमा रक्षा, उद्योग क्षेत्रमा अब नयाँ रोजगारीका अवसरहरू खुल्नेछन् । उद्योगी आशिष राजवंशीले स्वदेशी उद्योगको आधुनिकीकरणका लागि अर्थमन्त्री निर्मला सीतारमणले ६८ प्रतिशत बजेट विनियोजन गर्नु सकारात्मक रहेको बताए । उनले घरेलु उद्योगका लागि रक्षामा पुँजीगत खरिद बजेट १० प्रतिशतले बढेको पनि बताए । यो अघिल्लो वर्ष ५८ प्रतिशत थियो ।‘यो स्वागतयोग्य कदम हो किनभने यसले लगानी आकर्षित गर्नेछ । अनुसन्धान र विकास बजेटको २५ प्रतिशत विनियोजन भएको छ । अब ‘डिआरडिओ’ र अन्य अनुसन्धान निकायहरूसँग सार्वजनिक निजी साझेदारी मोडलमा सैन्य प्लेटफर्महरू र सहयोगी प्रयासहरूको विकास गरेर उद्योग–नेतृत्वको अनुसन्धानलाई प्रोत्साहन गर्नु आवश्यक छ,’ अदानी समूहका राजवंशीले भने ।
भारतका साना तथा मझौला उद्यमीलाई पनि रक्षा उद्योगले थप अवसर उपलब्ध गराउने उनीहरूको विश्वास छ । ‘यो घरेलु उद्योगलाई अवसर दिनको लागि चालिएको ठूलो कदम हो र यसले हामी जस्ता कम्पनीहरूलाई मद्दत गर्नेछ । रक्षामा भारतलाई उच्चस्तरको आत्मनिर्भरता हासिल गर्न मद्दत पुग्नेछ,’ नागपुरमा रहेको जेएसआर डाइनामिक्सका अध्यक्ष एवं सेनाका पूर्व एयरमार्सल एसबी देवले भारतीय सञ्चारमाध्यमसँग भनेका छन् ।
हिन्दुस्तान एरोनटिक्स लिमिटेडका पूर्वअध्यक्ष आरके त्यागीले रक्षा क्षेत्रमा पनि अब ‘मेक इन इन्डिया’ को वातावरण रहेको बताए । भारतीय उद्योगलाई माथि उठाउन यो कदम चालिएको उनको भनाइ छ । रक्षा विशेषज्ञ तथा पूर्वरक्षा प्रवक्ता क्याप्टेन डिके शर्माले यो अहिलेसम्मकै सबैभन्दा ठूलो निर्णय भएको बताए ।
