कांग्रेस शीर्ष नेताहरूकाे एकमत : ‘एमसीसी पास गर्न ढिला नगराैँ, अन्तर्राष्ट्रिय सम्बन्ध नबिगाराैँ’

सेयर गर्नुहोस

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले भाेलि बुधवार बोलाइएको प्रतिनिधि सभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताउनुभएको छ ।

आज मङ्गलवार नयाँ बानेश्वमा रहेकाे संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताउनुभएको हो । उहाँले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताउनुभयो । नेता कोइरालाले एमसीसीको रूपरेखाहरू नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत बताउनुभयो ।

नेता कोइरालाले भन्नुभयो, ‘रामशरण महतज्यूले एमसीसी नेपालको लागि राम्रो हो भनेर ब्रिफिङ गर्नुभयो । नाै वटा देशमा त्यस्तै कार्यक्रमहरु चलिरहेको छ । त्यहाँ अमेरिकी सेनाहरू गएका छैनन् । यसको रेखा नेपाल सरकारले गर्ने हो भन्ने छ । भोलिको बैठकमा पेस हुन सक्ने सम्भावना छ । बैठकको निस्कर्ष निस्किसकेको छैन । तर एमसीसी पास गर्नुपर्छ भन्ने कुरा हो । बैठकमा रामशरण महतजीले नेपालको लागि एमसीसी राम्रो हो । यहाँ अमेरिकाको सेना आउँदैन, उसले यहाँ हस्तक्षेप गर्दैन भन्ने कुराहरू राख्नुभएको छ ।’

यस्तै बैठकमा नेतृ सुजाता कोइरालाले एमसीसी पास गर्न ढिलाे गर्न नहुने बताउनुभयो । उहाँले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताउनुभयो । उहाँले अनुदान लिन्नँ भन्नु हास्यास्पद भएकोले अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाइराख्न एमसीसी टेबुलबाट पास गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने षड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताउनुभयो ।

नेतृ कोइरालाले भन्नुभयो, ‘एमसीसी हामीले टेबुल गरेर पारित पनि गर्नुपर्छ । यो एउटा सहयोग हो । अनुदानलाई लिन्नँ भन्दा राम्रो देखिँदैन । अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिग्रेर जान्छ । हाम्रो यति लामो समयदेखिको सम्बन्ध छ विभिन्न देशहरूसँग, त्यो बिग्रिन्छ । त्यसले नेपाललाई धेरै नै क्षति पुर्‍याउँछ । त्यसैले अब यसलाई धेरै ढिलो गर्नुहुँदैन । यसमै बहस गेर बस्नु पनि हुँदैन । हामीले एउटा निर्णय लिइसकेका छौँ । एमसीसी एउटा अनुदान हो र यसले नेपालका लागि दीर्घकालीन सहयोग पुर्‍याउँछ । कुनै पनि विकासको योजनालाई लिन्नँ भन्दा एकदमै हास्यास्पद हुन्छ । अब यसलाई धेरै ढिला नगरौँ, धेरै बहस गरेर समस्यालाई झनै बल्झाउन नथालौँ । यसलाई चाँडो पास गरेर समस्याको समाधान खोजाैँ । कसैले नेपाललाई कब्जा गर्न सक्दैन । आजको दिनसम्म कसैलाई कब्जा गर्न दिएनौँ ।’

नेतृ कोइरालाले एमालेसहितका सबै दलहरूले सरकारमा रहँदा एमसीसी पास गर्नुपर्ने कुरा अघि सारेकोले अहिले विरोध गरेर दोहोरो चरित्र देखाउन नहुने बताउनुभयो ।

यस्तै पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले अमेरिकी सहयाेग एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताउनुभयो । उहाँले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोपसमेत लगाउनुभयो ।

Facebook Comments Box