भारत र नेपालका प्रधानमन्त्रीले भर्चुअल रुपमा उद्घाटन गरेपछि मात्रै रेलले यात्रु बोक्ने

काठमाडौँ। भारतबाट ल्याइएका दुई वटा रेल १६ महिनापछि चलाउने तयारी गरिँदै छ । त्यो पनि विनायात्रु फागुन १ गतेबाट रेल चलाउने सुरसार छ । औपचारिक रुपमा भारत र नेपालका प्रधानमन्त्रीले भर्चुअल रुपमा उद्घाटन गरेपछि मात्रै यात्रु बोकिने छ । अब रेल जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर दूरीमा दिनमा एक पटक चल्ने छ ।
त्यसमा अहिले तालिम लिएका ६० जना नेपाली कर्मचारीले प्रत्यक्ष अभ्यास गर्ने छन् भने तिनीहरुलाई सिकाउन भारतीय रेलवे कम्पनी कोंणबाट आएका १४ जना कर्मचारीले सहयोग गर्ने छन् । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब रेल चलाउन कुनै समस्या छैन । तर उनले अर्थ मन्त्रालयबाट मागेजति बजेट नपाउँदा भने असन्तुष्टि पोखे ।
‘पटकपटक अर्थ मन्त्रालय धाउँदा रेलवे कम्पनीलाई सम्झौता अनुसार दिन मागेजति बजेट पाइएन,’ उनले भने, ‘४५ करोड मागेकोमा २१ करोड रुपैयाँ मात्र उपलब्ध गराउने कुरा आएको छ, त्यो पनि आइसकेको छैन ।’ बजेट थोरै आउने भएपछि धेरै खर्च कटौती गर्दै लगेको उनले सुनाए । ‘पहिलो प्राथमिकता रेल सञ्चालन हो,’ उनले भने, ‘त्यसैले हामी रेल चलाउनमै फोकस छौं ।’ कोंणसंगको जीटुजी सम्झौता अनुसार ट्याक्स सहित ४५ करोड रुपैयाँ दिनुपर्ने छ । जसमा १० करोड रुपैयाँ ट्याक्स हो । ३५ करोडमा भएको जीटुजी सम्झौता अनुसार रेल सञ्चालनमा प्रयोग हुने भारतीय कर्मचारीदेखि सञ्चालनमा आवश्यक पर्ने सामान पनि यसैमा पर्छ । ‘सामानको ट्याक्स छुट्टै तिर्नु पर्ने छ,’ उनले भने, ‘त्यसैले जनशक्ति र सामान सहितको रकम गरेर ४५ करोड रुपैयाँ आवश्यक भएको हो ।’
अहिले नै रेल लिकमा कुदाउँदा कुनै पार्टपूर्जा बिग्रिएमा बनाउन समय हुने उनको भनाइ छ । ‘पछि यात्रु बोक्न थालिसकेपछि बिग्रियो भने दुई/चार दिन रेल रोक्ने छुट हामीलाई हुने छैन,’ उनले भने, ‘उद्घाटन गरिसकेपछि रेल नियमित चल्नु पर्छ भन्ने हो ।’ बुधबार रेल गुड्ने क्षेत्र जनकपुरको सीता चोकमा हाटबजार नराख्न सबैलाई जानकारी गराइएको उनले बताए । भारतीय प्राविधिक २६ मध्य १४ जना आएका र थप १२ जना पनि रेल चल्ने बेलासम्म आइसक्ने उनको दाबी छ । अहिलेसम्मको तयारी अनुसार फागुन दोस्रो साताबाट रेलको औपाचारिक उद्घाटन गरिने छ । रेल सञ्चालनमा कानुनको समस्या नरहेको उनले बताए । कुर्थादेखि जयनगरसम्म यात्रा गर्ने यात्रुले सामान्य ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ तिर्नेगरी भाडादर कायम गरिएको छ ।
