पार्टीले जिम्मेवारी दिए काठमाण्डाै महानगरको मेयरमा फेरि मेराे दाबेदारी रहने छ : शाक्य

सेयर गर्नुहोस

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए फेरि महानगरको मेयरमा आफ्नो दाबेदारी रहने बताउनु भएकाे छ ।

काठमाण्डाै महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलमा रहेकाे श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताउनु भएको हो ।

उहाँले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताउनु भयाे । मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै ठाउँमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताउनुभयो ।

मेयर शाक्यले भन्नुभयो, ‘म एउटा पार्टीको कार्यकर्ता हुँ । पार्टीले आवश्यकता अनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । साथै महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर जिम्मा दिए काम गर्ने हो । पार्टीले जसलाई जिम्मा दिए पनि काठमाण्डाै महानगरपालिकामा हामी जित्ने गरेर तयारी अवस्थामा छौँ ।’

मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, सम्वर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताउनुभयो । उहाँले महानगरको नीति अनुसार आउँदाे दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने बताउनुभयो ।

मेयर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा महानगर काठमाण्डाैको विकासमा केन्द्रित रहने प्रतिबद्धता जनाउनुभयाे । उहाँले रानीपोखरीको केही काम बाँकी रहेकाले काम सम्पन्न हुनासाथ नागरिकका लागि खुला गर्ने पनि बताउनु भयो ।

Facebook Comments Box