बिजिङ्गकाे विन्टर ओलम्पिक उद्घाटनमा भारत सहभागी नहुने

भारतले चीनद्धारा शुक्रवारदेखि आयोजना गर्न लागेको विन्टर ओलम्पिकमा कूटनीतिक प्रतिनिधित्व नगर्ने भएको छ । चीनका लागि भारतीय कार्यबाहक राजदूतले ओलम्पिकको उद्घाटन र समापन दुबैमा सहभागी नहुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
विहीवार आयोजित नियमीत पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रबक्ता अरिन्दम बाग्चीले यो जानकारी दिएका छन् । अमेरिका, युरोपसहित पश्चिमा मुलुकले मानवअधिकारको बिषय उठाउँदै विन्टर ओलम्पिक बहिस्कारको घोषणा गरेसँगै भारतले पनि सहभागीता नजनाउने निर्णय लिएको हो । चीनमा भारतका कार्यवाहक राजदूत एक्विनो विमल छन् । चीनका लागि नवनियुक्त राजदूत प्रदीप रावतले ओहोदाको प्रमाणपत्र बुझाउन बाँकी छ ।
ओलम्पिक टर्च लिएर चिनियाँ जनमुक्ति सेनाका कमाण्डर छि फाबाओ सहभागी भएको बिषयलाई लिएर दिल्ली असन्तुष्ट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ सेनाका रेजिमेन्ट कमाण्डर रहेका छि गलवान उपत्यमामा भारतीय सेनासँग भएको झडपमा सहभागी थिए । भारतीय सैनिकको मृत्युमा उनी लगायत चिनियाँ सैनिकको भूमिका रहेको भारतको आरोप छ ।
ओलम्पिकको उद्घाटनमा रुसी राष्ट्रपति भ्लादमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री इमरान खान लगायत सहभागी हुनेछन् । पाकिस्तानी प्रधानमन्त्री खान शुक्रवार बेइजिङ पुगेका छन् ।
