भारतसँगको सम्बन्ध उच्च प्राथमिकतामा : रुस

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्कोले दिल्लीसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन्। उनले भारतसँगको सम्बन्ध र साझेदारी थप वृद्धि हुनेसमेत उल्लेख गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा लाभरोभले भनेका छन्, ‘हामी दिल्लीसँगको सम्बन्धलाई उच्च महत्व दिन्छौँ। हाम्रो बीचमा विशेष रणनीतिक साझेदारी छ। साझेदारी अघि बढाउन हामी दुवै देश प्रतिबद्ध छौँ।’ रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अघिल्लो महिना भारत–रुस वार्षिक शिखर सम्मेलनका लागि भारत भ्रमण गरेका थिए। गत हप्ता, रूसी उप विदेशमन्त्री वर्सिनिनले रसियाका लागि भारतीय राजदूत पवन कपूरसँग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा रूसको अध्यक्षताका सन्दर्भमा छलफल गरेका थिए।
गत हप्ता रुसी विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा रुसका सूचना र प्रेस विभागका उपनिर्देशक एलेक्सी जायत्सेभले भनेका थिए, ‘हामी हाम्रा भारतीय साझेदारहरूलाई युरोपको सुरक्षा अवस्था र तदनुरूप वार्ताका बारेमा जानकारी दिइरहेका छौँ।’ रुसका उपविदेशमन्त्री सर्गेई र्याबकोभले रुसका लागि भारतीय राजदूत पवन कपूरसँग यस महिनाको सुरुमा भेट गरेका थिए।
रुसको तर्फबाट जेनेभामा अमेरिकासँग वार्तासमेत भएको थियो। वार्ताको नेतृत्व उपविदेशमन्त्री सर्गेई र्याबकोभले गरेका थिए भने अमेरिकाको प्रतिनिधित्व अमेरिकी उपविदेशमन्त्री वेन्डी सर्मनले गरेका थिए। यसअघि सर्मनले भारतका विदेश सचिव हर्ष शृंलाई टेलिफोन गरेर वार्ताबारे जानकारी दिएका थिए।
नयाँ दिल्लीको अमेरिका र रुस दुवैसँग घनिष्ठ सम्बन्ध रहेको छ। भारतले रुस र युक्रेनबीचको समस्याको शान्तिपूर्ण समाधानका लागि आह्वानसमेत गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पत्रकारहरूसँग भनेका छन्, ‘हामी यस क्षेत्र र बाहिरको दीर्घकालीन शान्ति र स्थायित्वका लागि दिगो कूटनीतिक प्रयास जारी राख्न परिस्थितिको शान्तिपूर्ण समाधानको लागि आह्वान गर्दछौँ।’
नयाँ दिल्लीले पूर्वी युरोपको विकासलाई नजिकबाट नियालिरहेको जनाएको छ। युक्रेनमा रहेको भारतीय राजदूतावासले त्यहाँ रहेका भारतीय नागरिकहरूको तथ्यांक संकलन गर्न थालेको छ। सरकारी अनुमानअनुसार युक्रेनमा करिब १८ हजार भारतीय विद्यार्थीहरू अध्ययनरत छन्।
