आईपीएलमा बिक्री हुने सम्भावनाबारे यस्तो भन्छन् मिक्यो दोर्जी

काठमाडौं ।
पछिल्लो समय भुटान पनि क्रिकेटमा राम्रो गर्न थालेको छ । उसको महिला टोलीले त नेपाललाई पनि चुनौती दिन थालिसकेको छ । साथै, भुटानको पुरुष क्रिकेट टोलीले पनि नेपालसहित अन्य एसोसियट राष्ट्रविरुद्ध चुनौती दिने वातावरण सिर्जना गरिरहेको छ ।
भुटानका युवा अलराउन्डर मिक्यो दोर्जीले त नेपालको एभरेष्ट प्रिमियर लिग (ईपीएल) समेत खेलिसकेका छन् । उनी विदेशी लिग खेल्ने पहिलो भुटानी क्रिकेटर पनि हुन् । साथै, दोर्जीले सर्वाधिक लोकप्रिय इण्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा पनि नाम दर्ता गराएका छन् ।
आईपीएल अक्सनमा नाम दर्ता गराउने पनि उनी पहिलो भुटानी खेलाडी हुन् । आईपीएल अक्सनका लागि नाम दर्ता गराएसँगै फेरि एकपटक मिक्योको चर्चा सुरु भएको छ । भारतीय मिडियाले पनि उनीबारे समाचार प्रकाशन/प्रशारण गरिरहेका छन् ।
यसैबीच, उनले न्यू इण्डियन्स एक्सप्रेससँग कुराकानी गरेका छन् । कुराकानीका क्रममा उनले भनेका छन्, ‘आईपीएलमा खेल्ने मेरो अन्तिम सपना छ । सामाजिक सञ्जालमा भुटानका एक खेलाडी पनि आईपीएल अक्सनमा भनेर समाचार आएपछि साथीहरूले मलाई फोन गरिरहेका छन् । यद्यपि धेरै साथीहरूलाई सर्टलिस्टमा गएपछि मात्र नाम अक्सनमा जानेछ भनेर थाहा छैन । इमान्दार भएर भन्नुपर्दा मेरो नाम अन्तिम सूचीमा समावेश हुने सम्भावना कम छ । अहिले भुटानका लागि आईपीएल अक्सनका लागि नाम दर्ता गर्नु नै ठूलो कुरा हो ।’
दोर्जी प्रायः भारत आवतजावत गरिरहन्छन् । उनले भारतमा लामो समय क्रिकेट पनि सिकेका छन् । दोजीले दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा क्रिकेट सिकेका हुन् । त्यसपछि उनी २०१८ र २०१९ मा पनि बलिङका लागि भारत गएका थिए ।
दोर्जीले भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीसँग पनि भेट गरिसकेका छन् ।
होटलमा भएको भेटमा धोनीले उनलाई थप मिहिनेत गर्न सुझाव दिएका थिए । धोनीको सल्लाहलाई आफूले गम्भीरतापूर्वक लिएको दोर्जीले बताएका छन् । उनले भुटानका लागि एक टी-२० म्याच खेलिसकेका छन् । दोर्जीले सन् २०१९ मा नेपालविरुद्ध डेब्यू गरेका थिए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा डेब्यू गरेका उनले नेपालविरुद्ध २३ बलमा चार छक्कासहित २७ रन बनाएका थिए । सो खेलमा उनी भुटानको तर्फबाट सर्वाधिक रन बनाउने ब्याटर थिए । आसन्न आईपीएलको मेगा अक्सन १२ र १३ फेब्रुअरीमा हुँदैछ ।
