भारत र फिलिपिन्सबीच मिसाइल खरिद सम्झौता

सेयर गर्नुहोस

भारतले फिलिपिन्सलाई साेर बेस्ड एन्टी–सिप मिसाइल प्रणाली आपूर्ति गर्ने सम्झौता गरेको छ। भारतको ब्राह्मोस एयरोस्पेस प्राइभेट लिमिटेट तथा फिलिपिन्स सरकारको रक्षा विभागबीच भारतबाट साेर बेस्ड एन्टी–सिप मिसाइल प्रणाली आपूर्तिका लागि शुक्रबार सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौता ३७ करोड ५०लाख अमेरिकी डलरबराबरको छ ।

भारतले क्षेप्यास्त्र निर्यात गर्न सफल भएको भन्दै भारतीय रक्षाविज्ञहरूले सफलताको चर्चा गरेका छन्। भारतको रक्षा अनुसन्धान र विकास संगठन र रूसको एनपिओ मासिनोस्ट्रोयेनियाले संयुक्त रूपमा ब्रह्मोस मिसाइलको विकास गरेका थिए। फिलिपिन्सले मिसाइलका तीनवटा ब्याट्रीहरू खरिद गर्नेछ। यो भारतको पहिलो रक्षा निर्यात भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ। यो क्षेप्यास्त्र भारतको ब्रह्मोस एरोस्पेसले निर्माण गरेको हो।

भारतीय रक्षा मन्त्रालयले शुक्रबार जारी विज्ञप्तिमा जिम्मेवार रक्षा निर्यात प्रवर्द्धन गर्ने भारत सरकारको नीतिको लागि यो सम्झौता एक महत्त्वपूर्ण कदम भएको भनेको छ। भारत र फिलिपिन्सबीच यसअघि धेरै चरणमा वार्ता भएको थियो । फिलिपिन्स भारतले मिसाइल प्रणाली निर्यात गर्ने पहिलो राष्ट्र बनेको छ ।

भियतनाम र थाइल्यान्डलगायत दक्षिणपूर्व एसियाका अन्य राष्ट्रहरूले यसलाई किन्न इच्छुक रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। चीनले दक्षिण चीन सागरमा आक्रामक कदम चालेको अवस्थामा फिलिपिन्सले भारतबाट क्षेप्यास्त्र खरिद गर्नुलाई अर्थपूर्ण रूपमा मानिएको छ ।

ब्रह्मोस एक सुपरसोनिक क्रुज मिसाइल हो, जसले अधिकतम २.८ म्याच वा ध्वनिको गति दिन सक्ने विज्ञहरूले बताएका छन्। यसलाई जमिन, पनडुब्बी, सतही जहाज र लडाकु विमानबाट प्रक्षेपण गर्न सकिनेछ। यही महिना भारतले नौसेनाको आइएनएस विशाखापट्टनमबाट मिसाइलको विस्तारित दायराको समुद्रदेखि–समुद्र संस्करणको सफलतापूर्वक परीक्षण गरेको थियो।

Facebook Comments Box