कोरोनाका कारण धनी झन् धनी र गरिब झन् गरिब बन्दै : अक्सफाम

कोरोना महामारीका कारण विश्वभर धनी र गरिबबीचको खाडल बढेको अक्सफामले एक रिपोर्टमा सार्वजनिक गरेको छ। महामारीबाट गरिबीको रेखामुनि पुग्ने व्यक्ति र परिवारको संख्या समेत बढेको बताइएको छ।
रिपोर्टमा संसारभर अत्यधिक गरिबीका कारण दैनिक २१ हजार मानिसको मृत्यु हुने गरेको उल्लेख छ। रिपोर्टअनुसार संसारका सबैभन्दा धनी व्यक्तिको सम्पत्ति सन् २०२० को मार्चदेखि हालसम्म दुई गुणाले बढेको छ।
दावोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा रिपोर्ट जारी गर्दै अक्सफार्मका मुख्य कार्यकारी निर्देशक डेनी श्री स्कन्दराजाहले यस वर्ष पनि महामारीको तेस्रो लहर सुरु भएयता पनि हरेक दिन एक नयाँ व्यक्ति करोडपति बनिरहेको बताए। यस बीचमा लकडाउन, कम अन्तर्राष्ट्रिय व्यापार, कम अन्तर्राष्ट्रिय पर्यटनका कारण संसारको ९९ प्रतिशत आवादी नराम्रोसँग प्रभावित भएको बताए। जसका कारण थप १६ करोड मानिस गरिबीतिर धकेलिएका छन्।
फोर्ब्सको तथ्यांकअनुसार संसारका १० सबैभन्दा धनी व्यक्तिमा एलन मस्क, जेफ बेजोस, बर्नार्ड अर्नोल्ट, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जुकरबर्ग, स्टीभ बाल्मर र वारेन बफेट हुन्।
