पाकिस्तानमा आतंकवादविरुद्ध प्रतिबद्धता कार्यान्वयन नभएको आरोप

वासिङटन डिसि ।
एक नयाँ प्रतिवेदनले विश्वव्यापी रूपमा आतंकवादको खतरा फैलिएको देखाएको छ । दक्षिण एसियामा पाकिस्तानमा रहेका विभिन्न अतिवादी एवं आतंकवादी संगठनहरूले पाकिस्तानको भूराजनीतिक गतिविधिहरूमा भूमिका खेलिरहेको प्रतिवेदनमा उल्लेख छ ।
आतंकवादी समूहहरू पाकिस्तानबाट सञ्चालन भइरहेका छन् र उनीहरूले अफगानिस्तानलाई लक्षित गरिरहेका छन्,’ सिंगापुर पोस्टका अनुसार आतंकवादसम्बन्धी अमेरिकी प्रतिवेदनलाई उल्लेख गर्दै भनेको छ, ‘अफगान तालिबान र आबद्ध हक्कानी नेटवर्कसहित, साथै लस्कर–ए–तैबा र यसको सम्बद्ध मोर्चा संगठनहरू र जैस–ए– मोहम्मदका गतिविधि पाकिस्तानी क्षेत्रबाट सञ्चालन भइरहेका छन् । यो दुर्भाग्यपूर्ण छ ।’
पाकिस्तानले आतंकवादविरुद्ध कदम चाल्ने र विशेष गरी सबै आतंकवादी संगठनहरूलाई समाप्त पार्ने प्रतिबद्धतामा सीमित प्रगति गरेको प्रतिवेदनमा उल्लेख छ । पाकिस्तानले संयुक्त राष्ट्रद्वारा घोषित आतंकवादी मसुद अजहर र मुम्बई हमलामा दोषी साजिद मिरविरुद्ध कारबाही नगरेको र यी दुवै पाकिस्तानमा सक्रिय रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
मसुद अजहरले अनलाइन पत्रिका अल नूरमा अफगान तालिबानलाई काबुल कब्जा गरेकोमा बधाई दिँदै ‘मन्जिल कि तरफ’ स्तम्भ लेखेका थिए । उनले ‘अमेरिका पराजयको अर्थ उसले विश्वको महाशक्तिको हैसियत गुमाएको’ पनि टिप्पणी गरेका थिए ।
अमेरिकी प्रतिवेदनले सन् २००२ मा पत्रकार डेनियल पर्लको हत्या गरेको अभियोगमा आतंकवादी उमर शेखलाई रिहा गरेको पनि उल्लेख गरेको छ । गतवर्षको डिसेम्बरमा सिन्ध उच्च अदालतले ओमर शेख र पर्लको अपहरण र हत्याका तीन दोषीहरूमाथिको सजायलाई खारेज गरेको थियो । उनीहरू रिहा भएका थिए । पाकिस्तानको सर्वोच्च अदालतले सिन्ध उच्च अदालतको यो निर्णयलाई कायम राखेको छ । ‘यो घटनाले फेरि पाकिस्तानको त्रुटिपूर्ण न्याय प्रणाली र आतंकवादविरोधी अनुसन्धानमा यसको प्रभाव देखाएको छ,’ सिंगापुर पोस्टले रिपोर्ट गरेको छ ।
