एमालेमा ‘विद्रोह’ गरेका पूर्वसांसद भन्छन् – केपी ओली मुठ्ठीभर दलालको कब्जामा परे

नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष केपी ओलीको तजबिजमा गरिएको पार्टीको केन्द्रीय नेतृत्वको चयनप्रति असन्तुष्टि देखिन थालेको छ । यही क्रममा नेकपा एमालेमा रहेर झण्डै ४० वर्ष राजनीति गरेका सिन्धुपाल्चोकका पूर्व सांसद सुवास कर्माचार्यले ओलीविरुद्ध विद्रोह गरेका छन् ।
नेता कर्माचार्यले आइतबार पार्टी परित्याग गरेको घोषणा गरेपछि सिन्धुपाल्चोक एमालेमा हलचल पैदा भएको छ । कर्माचार्यको घोषणापछि जिल्लाका धेरै नेता कार्यकर्ताले एमाले छोडेको घोषणा गर्न थालेका छन् । ३५/३६ को कम्युनिस्ट आन्दोलनमा सक्रिय हुँदै एमाले राजनीतिमा प्रवेश गरेका कर्माचार्य २०४५ देखि ०५६ सम्म सिन्धुपाल्चोक जिल्लाको पार्टी उपप्रमुख, २०५६ देखि ०६४ सम्म जिल्ला कमिटी प्रमुख रहेर काम गरेका थिए । त्यस्तै उनी २०५१, ०५६, ०६४ र ०७० मा चारपटक एमाले पार्टीबाट प्रतिनिधिसभाको उम्मेदवार बने । उनी २०५६ मा भएको चुनाव निर्वाचितसमेत भएका थिए ।
ओलीले नेतृत्व गरेको पार्टी दिनप्रतिदिन संगठनात्मक, वैचारिक, कम्युनिस्ट आन्दोलनको मूल्यमान्यता, आदर्श, विचार र नीतिबाट स्खलित हुँदै गएको निष्कर्षसहित आचार्यले पार्टी छोडेको बताएका छन् । कर्मचार्यले एउटा आनलाइन दिएका अन्तर्वार्तामा भनेका छन –
पहिलो कुरा त मैले पार्टी छोडेको होइन, विद्रोह गरेको हो । नेकपा एमाले हामीहरूले नै बनाएका हौँ । हजारौँ कार्यकर्ताको त्याग, बलिदान र मेहनतबाट एमाले बनेको हो । त्यसकारण यसलाई नेकपा एमालेभित्र अहिले नेतृत्वमा देखापरेका गलत प्रवृत्ति, सोच, व्यवहारका विरुद्ध गरिएको विद्रोह हो भनेर बुझ्नुपर्छ । पार्टी परित्याग र छोडेको नभई गलत कुराविरुद्धको विद्रोह हो । किनभने खासगरी केपी ओलीले नेतृत्व गरेको पार्टी दिनप्रतिदिन संगठनात्मक हिसाबले, वैचारिक हिसाबले कम्युनिस्ट आन्दोलनको मूल्यमान्यता, आदर्श, विचार र नीतिबाट स्खलित हुँदै गएको छ । एमाले पार्टी नभएर ओलीका भजन गाउनेहरूको भजन मण्डली बनेपछि यसका विरुद्ध विद्रोह नगर्ने हो भने नेपालको कम्युनिस्ट पार्टी विसर्जनको दिशातिर जाने भएकाले मुलुकको कम्युनिस्ट आन्दोलन जोगाउन र जगेर्ना गर्नका लागि मैले विद्रोह गरेको हुँ ।
अर्को कुरा हो विचार । हामीले समृद्ध समाजवादलाई परिलक्षित गरेर अघि जाने जाने निष्कर्ष निकालेका थियौँ तर पार्टी नेतृत्वमा बस्दा होस् वा सरकारमा बस्दा नै किन नहोस्, उहाँ समाजवादतर्फ जान चाहनुभएन । जनताका आधारभूत कुराहरूलाई परिवर्तन गर्ने कुरा, जनताका समस्या समाधान गर्ने दिशातर्फ उहाँ अघि बढिरहनुभएको छैन । उहाँ केही हुनेखाने मानिसहरूको घेराबन्दीमा बस्नुहुन्छ तर कुरा परिवर्तन र जनताको गर्ने गर्नुहुन्छ । मुठ्ठीभर दलालहरूको कब्जामा ओली परेकाले पार्टीभित्र कुनै विधि स्थापित हुन सकेन, यो भनेको वैचारिक र संगठनात्मक रूपले स्खलित हुनु हो र कम्युनिस्ट आन्दोलनको समाप्ति पनि हो ।
( राताेपाटीबाट )
