भारतको एकसय महत्वपूर्ण प्रोफेसनल्सको सूचीमा देवयानी राणा

नयाँ दिल्ली ।
भारतका एकसय महत्वपूर्ण व्यावसायिक व्यक्तित्वहरुको सूचीमा देवयानी राणा परेकी छिन्।कोकाकोला कम्पनीकी भारत तथा दक्षिणपश्चिम एसिया हेर्ने गरी पब्लिक अफेयर्स, कम्युनिकेसन तथा सस्टेनाबिलिटीतर्फ भाइस प्रेसिडेन्टका रुपमा कार्यत राणा रेपुटेसन टुडेको महत्वपूर्ण व्यावसायिक व्यक्तित्वको टप एकसय जनाको सूचीमा परेकी हुन्।
आफ्नो क्षेत्रमा महत्वपूर्ण काम गर्ने व्यावसायिक व्यक्तित्वहरुको सूची सार्वजनिक गर्दै रेपुटेसन टुडेले सूचीमा रहेकाहरु सबैले आफू कार्यरत संस्थामा नेतृत्वदायी तथा प्रभावशाली भूमिका निर्वाह गरेको जनाएको छ।
कोकाकोला कम्पनीकी भाइसप्रेसिडेन्ट देवयानीले त्यसअघि विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्र तथा कर्पोरेट मामिला, रणनीतिक योजना तर्जुमा, व्यवसायिक वकालत, जोखिम व्यवस्थापन संचार, सामाजिक उत्तरदायित्व बहन तथा दिगोपनबारे विगत २५ वर्षदेखि काम गरिरहेकी छन्।
यस क्षेत्रको पूर्वाधार, वातावरण, समाज तथा सुशासन, वित्तलगायतका क्षेत्रको विकासका लागि प्रभावकारी रणनीतिहरु बनाएकी देवयानीलाई घरेलु तथा निर्यात बजारहरुमा उत्पादन तथा व्यापार वृद्धिका रणनीति बनाउन अब्बल तथा प्रभावशाली व्यक्तित्व मानिन्छ। उनी नेपालका चर्चित राजनीतिज्ञ पशुपति शमशेर राणाकी छोरी हुन्। तीन तहको अनुसन्धान पछि कम्पनीले एकसय प्रभावशाली तथा महत्वपूर्ण व्यक्तिहरुको सूची सार्वजनिक गरेको हो।
कम्पनीले तीन महिना लगाएर गरेको अनुसन्धान, पाँचसय भन्दा बढी व्यावसायिक व्यक्तिहरुको मत तथा अध्ययनपछि तयार पारेको लामो डेटाबेसका आधारमा अन्तिम सूची सार्वजनिक गरेको बताएको छ। सूचीमा पहिलो नम्बरमा रिलायन्स इन्डस्ट्रिजका रोहित वंशल रहेका छन्। सूचीमा दुई जना व्यावसायिक व्यक्तिहरुलाई मरणोपरान्त पनि सूचीमा स्थान दिइएको छ।
सूचीमा रहेका नरेश कुमार पावर ग्रिडमा कार्यरत थिए । उनको गत महिनामात्रै मृत्यु भएको हो। यसैगरी कोभिड १९ संक्रमणका कारण मृत्यु भएकी कन्सल्टेन्ट सुरेखा पिल्लाईलाई पनि मरणोपरान्त महत्वपूर्ण प्रोफेसनल्सको सूचीमा स्थान दिइएको छ। उनी ट्विटरमा ट्रेन्डिङमा रहने गरेकी थिइन्।
