काठमाडौंमा इन्टरप्राइज इन्डिया प्रदर्शनी शुरु
काठमाडौं । काठमाडौंस्थित भृकुटी मण्डपमा मंगलबारदेखि ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’ शुरु भएको छ ।
पुस ६ देखि ८ गते सम्म आयोजना हुने उक्त प्रदर्शनीको भारतीय दूतावासकी कार्यवाहक राजदूत नामग्य सी खम्पाले उदघाटन गरिन् । सो अवसरमा कार्यवाहक राजदूत खम्पाले दुई देशबीचको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन नेपाली उद्यमीहरुसँग साझेदारी खोज्नुपर्ने बताइन ।
भारत सरकार वाणिज्य एवम् उद्योग मन्त्रालयको सहयोगमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले ‘इन्टरप्राइज इन्डिया २०२२’ ले आयोजना गरेको उक्त कार्यक्रममा दुवैतर्फ उपलब्ध व्यापार अवसरहरूको बारेमा सचेतना गरिने छ । साथै ब्रान्ड इन्डियाको प्रवद्र्धन र द्विपक्षीय व्यापार एवम् लगानी अभिवृद्धि गर्ने उद्देश्यले राखिएको छ ।
संयुक्त उद्यम, प्रविधि आदानप्रदान, मार्केटिङ प्रबन्धलाई सहजीकरण गर्नुका साथै दुई देशका जनताबीचको सम्पर्कलाई अझ मजबुत बनाउनु प्रदर्शनी प्रभावकारी हुने विश्वास लिइएको छ । प्रदर्शनीमा भारतका विभिन्न भागबाट आएका र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ५० भन्दा बढी भारतीय कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरु प्रदर्शन गरिरहेका छन् ।
