चीनमा अध्यनरत विधार्थीहरूमा इन्टर्नसिप नपाएर तनाव, नेपालमै व्यवस्था नभए आन्दोलनमा जाने चेतावनी
काठमाडौं ।कोभिड–१९ महामारीका कारण नेपाल फर्किएका चीनमा मेडिकल अध्ययनरत विधार्थीहरूले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। आज आइतबार रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै इन्टर्नसिपको बाँकी अवधि पूरा गर्ने व्यवस्था नेपालमै मिलाउन पीडित विद्यार्थीहरूले सरकारसँग आग्रह गरेका हुन्।
विद्यार्थीहरूले डेढ वर्षको इन्टर्नसिप नेपालकै सरकारी अस्पतालमा गर्न पाउनुपर्ने माग गरेका छन्। विद्यार्थीहरूले आफ्नो जायज माग पूरा नगरेमा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन्। समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ। चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुरले २०७८ साल साउन २३ गते इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीहरूलाई अनलाइन आवेदन गर्न सूचित गरेको थियो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, त्रिवि र काठमाडौं विश्वविद्यालयका उपकुलपतिहरू, नेपाल मेडिकल काउन्सिलका अध्यक्षलगायतको उपस्थितिमा मंसिर १७ गते भएको छलफलले विदेशमा विभिन्न शिक्षण संस्थाहरूमा शिक्षाको एमबिबिएस अध्ययनरत नेपाली विद्यार्थीहरूले कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्की आएका र अध्ययन पूरा गर्न नपाएका विद्यार्थीहरूलाई सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भई अध्ययन निरन्तरता दिनको लागि सम्बन्धित सरकारसमक्ष उच्चस्तरमा कूटनीतिक पहल गर्ने र उल्लेखित नियामक निकायहरूसमेतको समन्वय र सहकार्यमा आवश्यकताअनुसार समस्याको सकारात्मक निकास दिन पहल गर्ने निर्णय गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै पीडित विद्यार्थीहरूले नेपाल मेडिकल काउन्सिलमा बुझ्न जाँदा अनलाइनमार्फत लिइएको कक्षालाई मान्यता दिने भनेपछि आफूहरूले अनलाइन कक्षा लिएको बताए। अनलाइन कक्षा लिएर पूरै रकमसमेत बुझाएको उनीहरूको भनाइ छ। काउन्सिल र विश्वविद्यालयको समन्वयपछि पीडित विद्यार्थीहरूले अनलाइनमार्फत सैद्धान्तिक विषयहरू पढेको सुनाए। बाध्यात्मक परिस्थितिमा इन्टर्नसिप लिन बाध्य भएका विद्यार्थीहरूले राहत दिनुपर्नेमा थप पीडा दिइएको बताए। पटकपटक सम्बन्धित निकायमा धर्ना तथा विरोधका कार्यक्रम गरेको भए पनि अहिलेसम्म आफूहरूको मागको सुनुवाइ नभएको उनीहरूले गुनासो गरेका छन्।
एमबिबिएस अध्ययनरत अर्का विद्यार्थीले स्वदेशमै प्रयोगात्मक विषयको लागि आवश्यक सामग्रीसहित व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे। इन्टर्नसिप गर्न बाँकी विद्यार्थीहरू सबैले अनलाइनमार्फत विषयको ज्ञान लिएको उनले बताए। अनलाइनबाट शिक्षा लिँदा पनि पूरै रकम तिरेको भन्दै फेरि विश्वविद्यालयमा नै गएर कक्षा लिनुपर्ने मन्त्रालयले निर्णय गरेपछि थप पीडा भएको उनले सुनाए। उनले भने,‘सम्बन्धित विश्वविद्यालयमै गएर कक्षा लिनुपर्ने मन्त्रालयले भनेपछि हामीहरू थप संकटमा परेका छौँ।’ उनले इन्टर्नसिपको मागबारे पीडित विद्यार्थीहरूसँग कुनै पनि छलफल नभएको र सरकार विद्यार्थीहरूको बारेमा जानकार हुँदाहुँदै पनि विद्यार्थीहरूको हितका केही निर्णय नगरेकोमा आपत्ति जनाए। मन्त्रीलगायत काउन्सिलको उपस्थितिमा भएको छलफलले विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गरेको उनको गुनासो थियो। उनले भने,‘यदि विद्यार्थीको समस्या के हो र उचित समाधान गर्नुपर्छ भन्ने महसुस भएको भए विद्यार्थीहरूलाई पनि समेटेर छलफल गरिन्थ्यो ।’ देशका दक्ष जनशक्तिहरूलाई यसरी अप्ठ्यारोमा पार्न नहुने उनको भनाइ थियो।
एमबिबिएस अध्ययरत एक छात्राले कार्यक्रममा बोल्दै मन्त्रालयको यो निर्णयले विद्यार्थीहरू र अभिभावकहरूलाई निकै गाह्रो भएको सुनाइन्। यसले आर्थिक भार थपिँदा अभिभावकलाई थप पीडा भएको उनको भनाइ थियो । उनले भनिन्,‘सरकारले निजी विश्वविद्यालयसँग मिलेर मोटो रकम लिनलाई कुनै षड्यन्त्र भैरहेको देखिन्छ र यसको निर्णयप्रति हामी विद्यार्थी असन्तुष्ट छौँ।’
अर्का विद्यार्थीले मन्त्रालयले विद्यार्थीलाई फसाउन लागेको बताए। अर्की एक छात्राले अनलाइनबाट लिइएको शिक्षालाई मान्यता दिएअनुसार अनलाइनबाट पूरै कोर्स पूरा गरेको बताइन्। उनले भनिन्, ‘प्रत्येक सेमेस्टर २ महिनामा सकाएर कोर्स सकाएको हो। फेरि कोर्स पूरा गर्न सोही विश्वविद्यालय जानुपर्ने निर्णयले हाम्रो भविष्यलाई अन्धकारमा धकलेको छ।’ मन्त्रालयको यो निर्णयले निजी विश्वविद्यालयहरूमा फेरि कोर्स पढ्न बाध्य बनाएर दोहोरो भार लगाउन खोजेको उनले बताइन्। चीनमा विद्यार्थीहरूलाई पठाउने निर्णय विद्यार्थीको हितमा नभएको समेत उनको भनाइ थियो। ‘यो निर्णयलाई अस्वीकार गर्छाैँ, हामी कुनै पनि हालतमा यो निर्णय स्वीकार गर्न सक्दैनौँ,’ उनले भनिन्।
त्यस्तै, चीनमा अध्ययनरत अर्का विद्यार्थीले काउन्सिललाई समस्याको बारेमा जानकारी दिँदा पनि आजसम्म समाधान गर्न चासो नदेखाएको बताए। विद्यार्थीहरूको माग सम्बोधन नहुनुमा शिक्षा मन्त्रालय नै जिम्मेवार भएको उनको आरोप थियो। उनले चीनमा एमबिबिएस अध्ययन गरेर आएका चिकित्सकहरूले नै विद्यार्थीहरूलाई सहयोग नगरेको पनि बताए। उनले आफूहरूको माग जायज भएको भन्दै तत्काल कार्यान्वयन गर्न माग गरे। उनले अघि भने, ‘मेडिकल इतिहासमा तपाईंहरूको नाम सुनौला अक्षरले लेखियोस् र पछिका विद्यार्थीहरू सबैले तपाईंको नाम लिन पाउन्, त्यसरी हामीलाई सहयोग गर्नुहोस्।’ नयाँ भेरियन्ट आइरहेको वेला अब फेरि चीन बन्द हुने भएको र चाँडै नै यतै व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
