चीनमा पक्राउ पत्रकार रिहा गर्न मानवअधिकार परिषद्को आग्रह
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले चीनमा पक्राउ परेका पत्रकार तथा महिला अधिकार रक्षक झाङ जानलाई मानवीय आधारमा रिहा गर्न आग्रह गरेको छ । झाङको स्वास्थ्य बिग्रँदो अवस्थामा रहेको जानकारी आएको पनि राष्ट्रसंघीय मानवअधिकार परिषद्ले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘स्वास्थ्य अवस्था बिग्रिँदै गएका कारण उनलाई अत्यावश्यक उपचारको प्रबन्धका लागि विनासर्त तत्काल रिहाई गर्न हामी आग्रह गर्दछौँ,’ परिषद्ले विज्ञप्तिमा भनेको छ । उनी मे २०२० मा साङ्घाईबाट पक्राउ परेका थिए । कोभिड १९ का समयमा चीनले प्रभावकारी व्यवस्थापन गर्न नसकेको भन्दै भिडियो जारी गरेपछि उनलाई चिनियाँ प्रहरीले पक्राउ गरेर जेलमा राखेको थियो । उनीमाथि चिनियाँ प्रशासनले वुहानमा महामारी फैलिएका वेला गलत सूचना फैलाएको अभियोग लागेको छ ।
उनलाई ग्यास्ट्रिक, अल्सरलगायतका रोग लागेको परिषद्को भनाइ छ । उनी जेलभित्रै भोक हड्ताल बसेकी थिइन् । उनलाई गत जुलाईमा अस्पताल भर्ना गरिएको थियो । मावअधिकार परिषद्ले नियुक्त गरेका विज्ञहरू चीनका सम्बन्धित अधिकारीहरूसँग सम्पर्कमा रहेको पनि परिषद्ले जनाएको छ ।
