एमालेकाे टाउकाे दुखाई किन ? पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको प्रश्न, ‘चीनमा ढिलो–ढिलो राजदूत नियुक्ति गरे पनि हुने हो र ?’
काठमाडौँ । सरकारले चीनमा राजदूत नियुक्तिका लागि सिफारिस नगरेकोमा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपत्ति जनाएका छन् । सरकारले दसैंअघि नै खाली रहेका २३ राजदूतावासमध्ये भारत, अमेरिका र बेलायतमा राजदूत नियुक्तिको लागि सिफारिस गरेको थियो ।
सरकारले चीनसहित अन्य २० मुलुकमा राजदूत नियुक्ति गरेको छैन । त्यसलाई लिएर पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) द्वारा आयोजित कार्यक्रममा भने, ‘सरकारले पहिलेका राजदूतहरुलाई फिर्ता बोलायो त्यसमा म केही भन्दिनँ । तर के नयाँ राजदूत नियुक्ति गर्दा चीन ढिलो–ढिलो राजदूत नियुक्ति गर्ने मुलुक हो र ?’
परराष्ट्रमन्त्री नारायण खड्काले भने कान्तिपुरसँगको कुराकानीमा सरकारले चीनसहित अन्य २० मुलुकका राजदूत नियुक्तिका प्रक्रिया अघि बढाइरहेको बताए । उनले भने,‘प्रक्रिया अघि बढिरहेको छ । छिट्टै राजदूत नियुक्त प्रक्रिया अघि बढ्छन् ।’
नेपालको विदेशमा ३० वटा राजदूतावास र तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग रहेका छन् ।
