गुसपैठ राेक्न नेपाल-भारतकाे दक्षिणी सिमानामा कडाई

भारतको बाटो हुँदै अफगान नागरिकहरू नेपाल आएको पाइएपछि अहिले दक्षिणी सीमानाकाहरूमा सुरक्षाजाँचमा कडाइ गरिएको अधिकारीहरूले बताएका छन्।
गृह मन्त्रालयका अनुसार सोमवार काठमाण्डूबाट अवैध रूपमा नेपाल छिरेका ११ जना अफगान नागरिकलाई पक्राउ गरिएको छ।
पक्राउ परेका अफगान नागरिकहरू भारतबाट सुनौली हुँदै रूपन्देही जिल्लाको बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका थिए।
उक्त नाकाबाट स्थलमार्ग हुँदै नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिन्छन्।
अफगान नागरिकहरू देश छोड्न आतुर, तर त्यो कति सम्भव छ
ठूलो सङ्ख्या भारतीय र नेपालीहरू भैरहवानजिकै अवस्थित उक्त नाकाबाट सीमा वारपार गर्ने गर्छन्।
भारततर्फ प्रवेश गर्दा सुरक्षाजाँच अनिवार्य रूपमा गर्नु परे पनि नेपाल आउन यससम्बन्धी कुनै प्रक्रिया पूरागर्नु पर्दैन। अर्थात् भारतको बाटो भएर जुन देशका नागरिक पनि नेपाल सजिलै प्रवेश गर्न सक्ने देखिन्छ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र पोखरेलका अनुसार नेपाल छिरेका अफगान नागरिकहरू दिल्लीबाट सुनौलीसम्म बसमा आएर नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
प्रवक्ता पोखरेलले सीमाका जिल्ला प्रशासन कार्यालयहरूलाई सुरक्षाजाँचमा कडाइ गर्न निर्देशन दिएको पनि बताए।
बेलहिया नाकामा अहिले सुरक्षाकर्मी बढाइएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेय बताउँछन्।
अधिकारीहरूका अनुसार सोमवार पक्राउ परेका अफगान नागरिकलाई सोधपुछपछि अध्यागमन कार्यालयमा पठाइनेछ ।
अध्यागमनले उनीहरूको कसुर हेरेर सजाय गर्ने अध्यागमन विभागका सूचना अधिकारी झङ्कनाथ ढकालले बताए।
अफगानिस्तानमा तालिबान सत्तामा आएपछि त्यहाँका नागरिक शरणार्थीको रूपमा विभिन्न देशमा शरण लिँदै आएका छन्।
