चीनमा बाढी , १५ जनाकाे मृत्यु

बेइजिङ । कोइला उत्पादनको लागि धनी मानिने चीनको सान्क्सी प्रान्तमा वाढीका कारण १५ जनाको मृत्यु भएको छ भने तीन जना हराइरहेका छन्। भुपरिवेष्ठितसमेत रहेको सान्क्सी प्रान्तमा एक हप्तादेखिको भारी वर्षापछि आएको बाढीका कारण मानवीय क्षती भएको हो।
मंगलबार प्रान्त सरकारले एक विज्ञप्ती जारी गर्दै तीन महिनामा हुने वर्षा एक हप्तामा भएकाे बताएका छन्। वर्षाको पानीपछि आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र १९ हजारभन्दा बढी भवनमा पुर्ण रुपमा क्षतीग्रस्त बनेको प्रान्त सरकारले जनाएको छ।
यसअघि चीनको हेनान प्रान्तमा गत जुलाईमा बाढीका कारण ३ सयले ज्यान गुमाएका थिए। चीनमा कोइला अभावका कारण देशव्यापी रुपमा विद्युत् कटौती भएकै समयमा बाढीले समस्या थपेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार चीनको सबैभन्दा बढी कोइला उत्पादन गर्ने प्रान्त सान्क्सीमा बाढीका कारण कम्तीमा ६० कोइला खानी अस्थायी रुपमा बन्द गरिएकाे छ। प्रान्तभर कम्तीमा १ करोड ७५ लाख वासीन्दा बाढीबाट प्रभावित बनेका छन् भने प्रभावित क्षेत्रबाट करिब १ लाख २० हजारको उद्धार गरिएको छ।
……
