हामी चीनसामु झुक्ने छैनौँ : ताइवान

ताइपेई : ताइवानकी राष्ट्रपति साई इङ वेनले ताइवान सरकार चीन सामु नझुक्ने बताएकी छन्। चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँग जसरी पनि ‘शान्तिपूर्ण पुनर्मिलन’ गर्ने भनेको भोलिपल्ट वेनले ताइवान चीनसामु नझुक्ने बताएकी हुन्।
आइतबार ताइवानको राष्ट्रिय दिवसको अवसरमा बोल्दै राष्ट्रपति वेनले चीनको दबाबमा आफूहरु बेइजिङसामु नझुक्ने र आफ्नो प्रजातान्त्रिक जीवनलाई निरन्तरता दिने बताएकी छन्। ‘ताइवान सरकारले हतारमा कुनै कदम चाल्ने छैन’, उनले भनेकी छन्, ‘तर चीनको दबाबमा ताइवानका जनता चीनसामु झुक्ने छन् भन्ने भ्रममा नपर्दा हुन्छ। हाम्रो प्रगति देखेर चीनले हामीमाथि दबाब दिँदै जानेछ। हामी हाम्रो देशको रक्षा गर्न पछि हट्ने छैनौँ। चीनले न हामीलाई स्वतन्त्र हुन दिन्छ न त हाम्रा सबै जनताको स्वायत्तताको सम्मान गर्छ।’
चीनले अक्टोबर पहिलो हप्तामा मात्र करिब १४९ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा पठाएको थियो। चीनको सो गतिविधिले ताइवान मात्र नभई सम्बन्धित अन्तर्राष्ट्रिय निकायलाई समेत झस्काएको थियो।
शनिबार चिनियाँ राष्ट्रपति सीले ताइवानसँग जसरी पनि शान्तिपूर्ण पुनर्मिलन गर्ने बताएका थिए।
