राष्ट्रसंघ महासभामा माेदी भन्छन : भारत सबै प्रजातन्त्रको जननी
र
काठमाडौ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सबै प्रजातन्त्रको जननी भएको दाबी गरेका छन् । संयुक्त राष्ट्रसंघीय ७६औँ महासभालाई शनिबार राति सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जलवायु परिवर्तन, गरिबी निवारण, विकासका विषयमा चर्चा गर्दै आफू विश्वका सबै प्रजातन्त्रको जननी मुलुकको प्रतिनिधिका रूपमा प्रस्तुत भएको बताएका छन् । मोदीले अफगानिस्तान तथा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को पुनर्संरचनाका विषयमा पनि बोलेका छन् ।
‘म एक प्रजातन्त्रका जननीका रूपमा परिचित मुलुकको प्रतिनिधित्व गरेर यहाँ आएको छु,’ भारतीय प्रधानमन्त्रीको भनाई थियो, ‘भारत स्वतन्त्रताको ७५औँ वर्ष प्रवेश गरेको छ । तर, हामीकहाँ हजारौँ वर्षदेखि प्रजातान्त्रिक परम्परा कायम थियो । हाम्रो विविधता बलियो प्रजातन्त्रको प्रतीक हो, हाम्रा भाषाको सयौँ, दर्जानौँ बोली जीवन्त लोकतन्त्रको उदाहरण हो ।’
चिया पसलमा बाबुलाई सघाइरहेको व्यक्तिले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघमा उपस्थिति हुने अवसर पाएको भन्दै आफ्नो उदाहरण दिएर उनले भारतमा लोकतन्त्र स्थापित भएको तर्क गरे । वासिंटनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससँगको भेटमा पनि मोदीले लोकतन्त्र भारत र अमेरिकाको साझा मूल्य रहेकोमा जोड दिएका थिए ।
भारतले नियममा आधारित विश्व व्यवस्था बलियो हुनुपर्नेमा पनि मोदीले जोड दिएका थिए । मोदीले चीनप्रति लक्षित गर्दै कोभिड– १९ भारसको उत्पत्तिका विषयमा पनि अनुसन्धान हुनुपर्नेमा जोड दिएका थिए ।
अमेरिकाको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरेर मोदी न्युयोर्कस्थित राष्ट्रसंघीय महासभामा सहभागी भएका हुन् । उनले अफगानिस्तानमा तालिवानलाई पाकिस्तानले विगतमा सहयोग गरेको आरोप लगाए । तर, उनले पाकिस्तानको नाम लिएनन् ।
