राष्ट्रसंघको महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की, पाकिस्तानका अल्पसंख्यकमाथि हिंसाकाे मुद्दापनि उठाइयाे

सेयर गर्नुहोस

न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की भएको छ ।

मोदीको कार्यकालमा भारतको एक मात्र मुस्लिम बाहुल्य क्षेत्र काश्मिरले पाउँदै आएको विशेष राज्यको हैसियत खारेजी र तालिबान  र आतंकबाद जस्ता  समस्या केन्द्रित विषय बहसमा समाहित भएका थिए ।
भारतले विश्व मञ्चमा प्राय: पाकिस्तानको अभिव्यक्तिलाई बेवास्ता गर्दै आएको छ । तर शुक्रबार भने राष्ट्रसंघका लागि युवा भारतीय कुटनीतिज्ञ एवं भारतीय मिसनकी प्रथम सचिव स्नेहा दुबेले खानलाई कडा जवाफ दिएकी थिइन् । उनले पाकिस्तानमाथि अलकायदाका मास्टरमाइण्ड एवं अमेरिकी विशेष फौजको कारबाहीमा अबोटावादमा मारिएका ओसामा बिन लादेनलाई आश्रय दिएको र जयजयकार गरेको आरोप लगाएकी थिइन् ।

‘यो (पाकिस्तान) त्यही मुलुक हो जसले अग्निनियन्त्रकको भेषमा आगो लगाउने गर्छ’ दुबेले आलोचना गर्दै भनिन्’, ‘पाकिस्तानले छिमेकीलाई मात्रै हानी गर्ने ठानेर आफ्नो आँगनमा आतंकवादी हुर्काउने गर्छ ।’

दुबेले पाकिस्तानका अल्पसंख्यकविरुद्धको हिंसासँगै सन् १९७१ मा बंगलादेश स्वतन्त्र हुने बेलामा भएको ‘धार्मिक एवं साँस्कृतिक नरसंहार’माथि समेत जोड दिएकी थिइन् ।

‘भारत पाकिस्तान जस्तो मुलुक होइन’, दुबेले भनिन्, ‘भारत एउटा बहुलवादी लोकतन्त्र हो जहाँका अल्पसंख्यक देशको उपल्लो तहसम्म पुगेका छन् ।’
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध ‘आतंक मच्चाइरहेको’ र भारतलाई मुस्लिमरहित मुलुक बनाउन खोजेको आरोप लगाएपछि चर्काचर्की भएको हो ।

सयुक्त राष्ट्रसंघमा पाकिस्तानले बारम्बार भारतको आलोचना गर्दै आएको छ । तर यसपालिको बैठकमा खानले गरेको भाषण अलि आक्रामक थियो । किनभने उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भारतलाई मुस्लिममुक्त’ बनाउने अभियानमा लागेको आरोप लगाएका थिए ।
मोदीले ह्वाइट हाउसमा भेटघाट गर्ने दिनमा नै बैठकलाई सम्बोधन गरेका खानले व्यापारिक स्वार्थका कारण ‘पूर्ण दण्डहीनतासहित’ भारतले मानव अधिकार हननका घटनाबाट उम्किएको बताएका थिए ।
‘इस्लामोफोबिया (इस्लामप्रतिको घृणा, डर वा पूर्वाग्रह) को सबैभन्दा खराब र व्यापक प्रवृत्ति/रुपले यतिबेला भारतमा राज गरेको छ’, कोभिडसम्बन्धी सावधानीका कारण भिडियोमार्फत् गरिएको सम्बोधनमा खानले भनेका थिए, ‘फासीवादी आरएसएस-विजेपी सत्ताले घृणाले भरिपूर्ण हिन्दूत्वको विचारधारामार्फत् २० करोड भारतीय मुस्लिम समुदायविरुद्ध डर र हिंसाको राज गरिरहेको छ ।’

खानले मोदीको भारतीय जनता पार्टी र एक शताब्दीअघि अर्थसैन्य दस्तासहित हिन्दू पुनर्जागरण आन्दोलन सुरु गरेको राष्ट्रिय स्वयंसेवक संघप्रति संकेत गर्दै उक्त भाषण गरेका हुन् ।

खानले आफ्नो सम्बोधनमा पाकिस्तानले भारतसँग शान्ति चाहेको बताएका थिए । तर दिगो शान्तिका लागि ‘जम्मू-काश्मिरमा जारी विवाद सुल्झिनु पर्ने’ उनको भनाइ थियो ।

खानको उक्त भनाइको जवाफ दिँदै दुबेले युनियन टेरिटरी जम्मू-काश्मिर र लद्दाख ‘सधैंभर भारतको अभिन्न अंग रहने’ भनेकी थिइन् ।

– एजेन्सीको सहयोगमा

Facebook Comments Box