तालिबानले अफगान भूमि आतंकवादका लागि प्रयोग गर्न नदिने कुरामा सबैलाई आश्वस्त पार्नुपर्ने : एस जयशंकर

सेयर गर्नुहोस


काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले तालिबानले अफगानी भूमि आतंकवादका लागि प्रयोग गर्न दिन नहुने बताएका छन् । बुधबार संयुक्त राष्ट्रसंघको ७६औं महासभाका अवसरमा जी–२० राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा जयशंकरले तालिबानले अफगान भूमि आतंकवादका लागि प्रयोग गर्न नदिने कुरामा सबैलाई आश्वस्त पार्नुपर्ने बताएका हुन् ।

त्यस्तै उनले अफगानिस्तानमा समावेशी सरकार, सबै वर्ग र समुदायको प्रतिनिधित्व पनि विश्व समुदायले चाहेको बताएका छन् । ‘मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय समुदाय एकसाथ उभिनुपर्छ । बिनाप्रतिबन्ध र बिनारोकावट सीधा सहायता उपलब्ध गराउनुपर्छ,’ जयशंकरले सम्बोधनका क्रममा भनेका छन् ।

गत अगस्ट १५ मा राजधानी काबुल कब्जा गरेसँगै तालिबानले विजयी भएको घोषणा गरेको थियो । उसले अन्तरिम सरकार पनि बनाइसकेको छ तर पनि अन्तर्राष्ट्रिय समुदायबाट मान्यता भने पाइसकेको छैन । अन्तरिम सरकार समावेशी नभएको र आतंकवादी संगठनका सदस्यलाई समेत मन्त्री बनाइएको भन्दै अमेरिकालगायतका देशले आलोचना गर्दै आएका छन् । त्यस्तै मन्त्रिमण्डलमा महिला र अल्पसंख्यक समुदायको प्रतिनिधित्व नभएकाले पनि तालिबानको आलोचना भइरहेको छ

तालिबानले भने अन्तर्राष्ट्रिय समर्थन जुटाउन प्रयास गर्दै आएको छ । केही दिनअघि मात्रै तालिबानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई पत्र लेख्दै महासभामा सम्बोधनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो । तालिबानले अफगान भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन नदिने पनि बताएको छ ।

Facebook Comments Box