महन्त नेतृत्वकाे लाेसपामा स्थानीय तह प्रतिनिधिहरुकाे सनाखत तीव्र
वीरगञ्ज । बाराका दुई वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखले महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बाराको परवानीपुर र प्रसौनी गाउँपालिकाका प्रमुख र उपप्रमुखले मंगलबार लोसपाको पक्षमा सनाखत गरेका हुन् । उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर लोसपाको पक्षमा सनाखत गरेका हुन् । आफूसहित उपप्रमुख र गाउँपालिकाका दुई जना वडाध्यक्षहरुले लोसपामा सनाखत गरेर आएको परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण साहले जानकारी दिए । आफूसहित गाउँपालिकाकी उपप्रमुख सावित्री देवी, वडा नम्बर १ का वडाध्यक्ष मिश्री महतो र वडा नम्बर ३ का वडाध्यक्ष अनिल रामले पनि लोसपाको पक्षमा सनाखत गरेको उनले बताए ।यसैगरी बाराको प्रसौनी गाउँपालिकाका प्रमुख भोला गुप्ता र उपप्रमुख गीता साहले पनि लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । मंगलबार नै जिल्ला निर्वाचन कार्यालयमा गएर आफूसहित उपप्रमुख साहले लोसपाको पक्षमा सनाखत गरेर आएको गुप्ताले जानकारी दिए ।साथै गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष सुरेश गुप्ता, ३ का बैजनाथ साह कानु, ४ का आनन्द गुप्ता र वडा नम्बर ५ का वडाध्यक्ष सनै साह तेलीले पनि लोसपाको पक्षमा सनाखत गरेको गुप्ताले बताए । सो गाउँपालिकाका कुल २५ जना बोर्ड सदस्यहरुले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेको उनले जानकारी दिए ।
