काबुल विमानस्थलबाहिर दुई आत्मघाती हमलामा १३ जना मारिएको रसियाको दाबी

काठमाडौं, भदौ १० ।
रसियाको विदेश मन्त्रालयले अफगानिस्तानको काबुल एयरपोर्टबाहिर दोस्रो विस्फोट भएको जनाएको छ।
दुई आत्मघाती हमलामा कम्तीमा १३ जना मारिएको र १५ जना घाइते भएको उसले बताएको छ।अमेरिकी अधिकारीहरूले विस्फोटमा अमेरिकी कर्मचारीहरूसमेत घाइते भएको बताएका छन्।
विस्फोट विमानस्थल बाहिर भएको थियो, जहाँ तालिबानको कब्जापछि अमेरिकी नेतृत्वको उद्धारमा सामेल हुने आशामा हजारौं अफगानहरू जम्मा भएका छन्।पश्चिमी राष्ट्रहरूले यसभन्दा पहिले विमानस्थलमा सम्भावित आक्रमणको चेतावनी दिएका थिए।
पेन्टागनले विस्फोटको पुष्टि गरेको छ र रुसी विदेश मन्त्रालयले हताहतको गणना गरेको छ।विमानस्थलमा प्रवेश गर्न पर्खिरहेका मानिसहरुको भिडमा विस्फोट भएको रुसको दाबी छ।
धेरै देशहरूले दिनको सुरूमा नै मानिसहरूलाई काबुल विमानस्थलबाट टाढा रहन आग्रह गरेका थिए। अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका छन्।
यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजान पनि आदेश दिएका छन्। यदि विमानस्थलमा पुगेको भए पनि त्यहाँबाट फर्किन उनीहरूले बुधबार सूचना जारी गरेका थिए।
सूचनामा विमानस्थलमा पुगेकालाई पनि त्यहाँ नबस्न र अन्यत्र कतै जान भनिएको थियो।
अहिले पनि काबुल विमानस्थलमा कम्तीमा दस हजार विदेशी नागरिक रहेका छन्। आफ्नो देश फर्किनका लागि विमानस्थलबाहिर र भित्र हजारौं सर्वसाधारण बसेका छन्।
तालिबानले काबुल नियन्त्रणमा लिएपछि यो विमानस्थलबाट ८० हजारभन्दा बढी मानिसलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ। अमेरिका र उसको नेटो गठबन्धनका सदस्य राष्ट्रले अगस्ट ३१ भित्र आफ्ना नागरिक तथा आफ्नो देश फर्किन विमानस्थलमा बसेका अरु देशका मानिसको उद्धार सम्पन्न गरिसक्ने जनाएका छन्।
विमानस्थलमा इस्लामिक स्टेट्सका अतिवादी समूहबाट सुरक्षा खतरा रहेको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा उल्लेख गरिएको छ।
विमानस्थलमा भिडभाडमा खटेका अफगान सैनिक पनि आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको प्रतिवेदनमा जनाइएको छ।
