लोकतान्त्रिक समाजवादी पार्टीको पहिलो बैठकमा देउवा सरकारको प्रशंशा !

काठमाडौं ।
निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको पहिलो बैठक बसेको छ ।
बिहीवार पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको छ । बैठकपछि सञ्चाकर्मीसँगको कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी समिति सदस्य केशव झाले बदलिँदो परिस्थिति सँगै जनतामा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताए । उनले बैठकमा आन्तरिक रुपमा सांगठनिक संरचना कसरी बनाउने र कुन प्रक्रियामा बनाउने भन्ने विषयमा छलफल भएको जानकारी पनि दिए ।
‘दल दर्ता पछि पहिलो पटक बसेको बैठकमा ३३ जना सदस्य नै उपस्थित हुनुभएको थियो, बैठकमा दल दर्ता हुने बित्तिकै २१ दिन भित्रमा प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरूलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउनुपर्छ, स्थानीय तहको लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यहरुको लागि प्रादेशिक निर्वाचन कार्यालयमा एउटा अनुसूची अनुसार बनाउनुपर्ने हुन्छ, त्यो काम शुरु भइसक्यो, दल गठन भएको २ गते आज लगभग १० दिन त बितिसक्यो, त्यसैले २३ गतेसम्ममा स्वघोषणा गर्ने काम छ त्यसको बारेमा छलफल भयो’, उनले भने, ‘सदस्यता, विधान घोषणा नियमावलीदेखि लिएर जनतामा जाने भन्ने कुराहरुमा छलफल भएको छ, सांगठनिक संरचना कसरी कसरी र कुन मोडालिटीमा बनाउने त्यो विषयमा पनि छलफल भइरहेको छ ।’
सदस्य झाले आफूहरु दलविहीन भएको अवस्थामा पार्टी विभाजन सम्बन्धी विधेयक ल्याएर शेरबहादुर देउवा नेतृत्वको सरकारले ठूलो सहयोग गरेको बताए । उनले सरकारसँगको सहकार्यको विषयमा आज छलफल भए पनि कुनै निर्णय नहुने बताए । सरकारको औपचारिक धारणा आए पछि निर्णय लिने पनि सदस्य झाले बताए ।
