थारु नेता रेशम चाैधरीले साथ छाेडेपछि उपेन्द्र यादवलाई तनाव ,महन्थको दल दर्ताले मधेशमा जनस्तर खस्किने पक्का

काठमाडौं । उपेन्द्र यादवले जसपा पार्टी कब्जा गरे पनि तराइ मधेशमा महन्थ ठाकुरको क्रेज कायमै रहेको देखिएको छ ।
निर्वाचन आयोगमा आज दल दर्ताका लागि सनाखत गर्दा उपेन्द्रतिर लागेका केही सांसदहरु फर्किएका छन् । केही केन्द्रीय कार्यकारिणी सदस्य पनि फर्किएका छन् ।
महन्थ ठाकुरको नेतृत्वमा प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि सनाखत प्रक्रिया सकिएको छ । अब दर्ता हुनेछ । नयाँ पार्टी दर्ता हुँदै गर्दा महन्थ ठाकुरको मधेस वर्चश्व देखिएकोले उपेन्द्र यादव पक्ष तनावमा देखिन थालेका छ । थारु नेता रेशम चाैधरीलेसाथ छाेडेपछि जनता समाजबादी पार्टीकाे स्तर झन खस्किने लाेसपाका नेताहरु बताउंछन । महन्तको पक्षमा १५ (रेशमसहित) सांसद र १७ साविकका कार्यकारिणी सदस्यले सनाखत गरेका छन् । रेशम चौधरीले कार्यकारिणी सदस्यको हैसियतमा डिल्लीबजार कारागारबाटै सनाखत गरे ।
आयोगमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृझेचन्द्र लाल, जितेन्द्र प्रसाद सोनाल, उपेन्द्रकान्त झा, चन्दा चौधरी,लक्ष्मण लाल कर्ण, राजकुमार लेखी, केशव कुमार झा, अकबहाल अहमत शाह, निर्जला राउत, सुनिल कुमार झा, दानबहादुर विश्वकर्मा र रेशम चौधरीले सनाखत गरेका हुन् ।
लाेसपाकाे यस्तो छ एजेण्डा
प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुलवादी राष्ट्र आफूहरुको पार्टीको एजेण्डा भएको बताएका छन् ।
निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले सञ्चारकर्मीसँग कुरा गर्दै बहुल संविधानले नै स्विकारेकाले त्योअनुसार शासन, अधिकार र संविधानका लागि लड्ने बताए ।
बहुराष्ट्रको नजानेर विरोध गरिएको महतोको भनाई थियो । ‘नेपाल एउटा देश हो । देशमा विवधता छ । नेशनालिटी बहुल छ । बहुल राज्य हो । त्यो अनुसार, शासन, संविधान र अधिकार चाहिएको छ । एउटाको देश होइन के ।
विभिन्न नेशनालिटी बसेको छ,’ उनले भने, ‘देशलाई खण्डित गर्छ भनेर नबुझेर प्रचार भयो । बुझ पचाउनेहरुले गरेको प्रचार हो । बुझ पचाएको हो ।’ बहुल राष्ट्र नयाँ कुरा नभएको महतोले बताए ।
महतोले आफ्नो पार्टीको एजेण्डा जनताको पहिचान, अधिकार, राष्ट्रिय मुक्ति आन्दोलन भएको पनि बताए । ‘नेपाल सबै नेपालीको हो । चार जात छत्तिस वर्णको फुलवारी हो । सबैको भावना समेटिनु पर्यो । सबैको देश हो । सबै नेपालीको देशको मान्यता स्थापित गर्न लोसपा अगाडि बढ्छ,’ उनले भने ।
नेता महतोले आफूहरुको लाइन गणतन्त्र नै भएको बताए । ‘यो देशमा राजा छैन राजावादी कहाँबाट आउँछ? यो भूत भगाउनुस् । हामी गणतन्त्रवादी हो,’ उनले भने । महतोले सरकारमा सहभागी हुन प्रस्ताव नआएको पनि जानकारी दिए । ‘सरकारमा जाने प्रस्ताव आएको छैन । आएको अवस्थामा हाम्रो मूल्यमान्यता, मागको अवस्था हेरेर उचित निर्णय गर्छ । माग मुद्दाका लागि सरकारलाई समर्थन गरिसकेका छौं । माग पूरा गर्यो भने जान पनि सकिन्छ,’ उनले भने ।
महतोले भद्रगोल पार्टीबाट मुक्ति पाइएको टिप्पणी गरे । नयाँ पार्टी समावेशी पार्टी हुने, हिमाल, पहाड, तराई सबैलाई समेट्ने उनको भनाई छ । महतोले छिट्टै पदाधिकारीको कार्यविभाजन गर्ने पनि उल्लेख गरे ।
‘विगतमा देखिएको कमी कमजोरी हाम्रोमा देखिँदैन,’ उनले भने । नेता शरतसिंह भण्डारीले रेशम चौधरीबाहेक १४ जना सांसद र कार्यकारिणी समितिका १७ जनाले सनाखतको गरेको जानकारी दिए । ‘सनाखत भयो । दल दर्ता निर्वाचन आयोगले दिने हो । आजै दिन्छ होला,’ उनले भने । भण्डारीले सरकारमा जानेबारे अहिले कुनै टुंगो नभएको पनि बताए ।
‘हाम्रो पार्टी दर्ताको टुंगो लागेपछि बस्छौं । विश्वासको मत दिएकाले सरकारको सहयोगी पार्टी हुन्छौं । माग मुद्दाको सम्बोधनमा भर पर्छ । मुद्दा सम्बोधन प्रतिबद्धता गरेको आधारमा विश्वासको मत दिएको हो,’ उनले भने । भण्डारीले सरकारमा जानेबारे नसोचेको पनि बताए ।
‘माग मुद्दाकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको छ । माग मुद्दा सम्बोधनका आधारमा सरकारसँग सहकार्य हुन्छ,’ उनले भने ।
