राज्यको विभेदकारी नीतिविरुद्ध थरुहट आन्दोलनमा नागरिक अगुवाको समर्थन

सेयर गर्नुहोस

काठमाडौँ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव तुलसी थारूले निर्दोष थारुहरूलाई राज्यका हरेक शासकले सास्ती दिँदै आएको बताएका छन् ।

मोर्चाले सुरु गरेको तेस्रो चरणको आन्दोलनको तेस्रो दिन बिहीबार माइतीघर मण्डलमा बोल्दै राज्यले आफ्ना नसुनेकै कारण सडकमा उत्रनुपरेको बताए ।
‘अब चुप लागेर बस्दैनौं, हाम्रो धैर्यको बाँध फुटिसकेको छ,’ उनले भने । टीकापुर घटनाको ६ वर्षपछि मोर्चाले माइतीघर मण्डलाबाट धर्ना कार्यक्रमको आन्दोलन अघि बढाएको हो । कार्यक्रमको तेस्रो दिन आन्दोलनलाई समर्थन गर्दै नागरिक समाज, अभियन्ता, कलाकर्मी, आदिवासी तथा दलित मोर्चाका अगुवा माइतीघरमा भेला भएका थिए ।

नेपाल तामाङ घेदुङ संघका अध्यक्ष मोहन गोलेले टीकापुर घटनालाई विद्रोहको विस्फोटका रूपमा व्याख्या गरे । ‘टीकापुर घटनामा कैयौं निर्दोष थारूको घर जलाइएको छ,’ उनले भने, ‘रेशम चौधरीजस्ता कैयौं थारू अगुवालाई दोषी देखाइएको छ ।’

उनले आदिवासीको मुद्दालाई राज्यले बेवास्ता गर्ने हो भने देशैभरिबाट विद्रोह उठ्ने चेतावनी दिए । नागरिक अधिकारकर्मी एवं लेखक खगेन्द्र संग्रौलाले थारू समुदायले यो देशको आदिवासी हौं भनेर प्रमाण पेस गर्नु कुनै जरुरी नरहेको बताए ।

कार्यक्रममा थरुहट थारुवान युवा मोर्चाका संयोजक सीताराम थारूले आफ्नो समुदायमाथि राज्यको विभेदकारी नीतिविरुद्ध आक्रोश पोखे । मोर्चाले टीकापुरको मुद्दा खारेज, लाल आयोग प्रतिवेदन सार्वजनिक, बन्दीहरूको रिहाइ लगायत माग राखेको छ ।

Facebook Comments Box