अध्यादेश सम्बन्धमा बाबुराम र राजेन्द्र अलमलमा

सेयर गर्नुहोस

जसपा नेता ध्रुवित : कसैकाे लागि अध्यादेश सही , कसैकाे लागि गलत
काठमाडौं ।
सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ठीक छ कि गलत छ भन्नेबारे सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेताहरू दुई धारमा बाँडिएका छन् ।

जसपा नेता डा. बाबुराम भट्टराईले अध्यादेश गलत भएको भन्दै विरोध जनाएका छन् । तर, अर्का नेता राजेन्द्र श्रेष्ठले भने अध्यादेश सही भएको बताएका छन् ।
जसपा नेता श्रेष्ठले दल विभाजन सम्बन्धी अध्यादेशको प्रतिरक्षा गरिने रातोपाटीलाई बताए । गठबन्धन बनिसकेपछि त्यसको स्वामित्व लिनुपर्ने बताउँदै उनले भने ‘हामीले सरकारका कामको ‘डिफेन्स’ गर्न सक्नुपर्छ । होइन भने त आज गठबन्धन बन्ने भोलि भत्किने गर्छ ।’

सरकारले मंगलबार ल्याएको अध्यादेश पार्टी अध्यक्ष उपेन्द्र यादवसँग सल्लाह गरेरै आएको श्रेष्ठले बताए । माधव नेपाललाई निकास दिन र संसद्लाई विघटन हुनबाट बचाउने उद्देश्यले अध्यादेश ल्याइएको उनले बताए ।

नेता श्रेष्ठले भने, ‘यो अध्यादेश प्रतिगमनविरुद्धको सङ्घर्षबाट निर्माण भएको गठबन्धनलाई दिगो बनाउनका लागि ल्याएको हो । यसले संसद्लाई निकास पनि दिन्छ ।’

उता, जसपा नेता डा. बाबुराम भट्टराईले चाहिँ सार्वजनिक रूपमै अध्यादेशप्रति आपत्ति जनाउँदै भनेका छन्, ‘ओली गए पनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय हो । जसले गरे पनि संसद् अधिवेशन अन्त्य गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो । अनि सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो । गलतलाई गलतभन्दा गठबन्धनको विरोध नठानियोस् ।’

@राताेपाटी

Facebook Comments Box