हिन्दू राष्ट्रको विषयमा जनमतसंग्रह हुनुपर्छ: नेता उपाध्याय

सेयर गर्नुहोस

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का नेता डा. दिनेश उपाध्यायले नेपाल हिन्द राष्ट्र हुनुपर्ने बताएका छन् । र, यसको लागि जनमतसंग्रह गरिनुपर्ने उनको भनाई छ । उनले जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको टिप्पणी गरे । राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने उनको भनाई छ । उनले हिन्द राष्ट्र र राजसंस्था राजनीतिक विषयभन्दा अलग विषय भएको बताए ।

बुधवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हिन्द राष्ट्र र राजसंस्था, यो राजनीतिभन्दा अलग विषय हो । मलाई लाग्छ, हिन्द राष्ट्रको विषयमा नेपालमा जनतमतसंग्रह हुनुपर्छ ।’

उनले भने,‘राजसंस्था र हिन्द राष्ट्र यो राजनीतिभन्दा अलग विषय हो । हिन्द राष्ट्रको विषयमा जनमतसंग्रह हुनुपर्छ । तर, यो विषय नेपालको आन्तरिक विषय हो । यसमा भारतले हस्तक्षेप गर्दैन ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने पनि जनाए । यता नेपालबाट पनि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण हुने उनले जनाए । उनले भने,‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा फेरि पनि आउनुहुन्छ, यसअघि पनि उहाँ धेरै पटक आउनुभएको छ । मलाई लाग्छ, उहाँको फेरि नेपाल भ्रमण हुनसक्छ । पहिले पनि मोदी नेपाल आउनुभएकै हो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाजी पनि भारत भ्रमणमा जानुहुन्छ होला ।’ यद्धपी मोदीले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्तो दिएको वा नदिएको भन्ने आफूसँग सूचना नभएको उनको स्पष्टोक्ति थियो ।

उनले आफू भगवान् पशुपतिनाथको दर्शन गर्न आएको बताए । उपाध्यायले नेपाल र भारतबिच ऐतिहासिक र बहु आयामिक सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबिच सुमधुर सम्बन्ध हुने दाबी गरे ।

उनले भने,‘नेपाल र भारतबिच जनस्तरमा सम्बन्ध छ । हामीबिच बहु आयामिक सम्बन्ध छ । धर्कोबारेमा राजनीति हुनुहुँदैन । भारतमा राम मन्दिरको निर्माण भइरहेको छ । राम मन्दिर सरकारको विषय होइन । राम मन्दिर आस्थाको विषय हो । भगवान् पशुपति पनि आस्था हो । नेपालमा सनातन धर्म हुनुपर्छ ।’

उनले नेपालका राजनीतिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको र नगर्ने स्पष्ट पारे । उनले भने-‘नेपाल हाम्रो सहोदर भाइ हो । नेपाल र भारतबिच रोटी र बेटीको सम्बन्ध छ । मित्रताको सम्बन्ध छ । एक अर्का देशले सल्लाह मागे दिनुपर्छ । तर, नेपाल-भारत द्विपक्षीय सम्बन्धमा कुनै असमझदारी छैन । हस्तक्षेप गर्नुहुँदैन । नेपाल र भारतबिच जनता जनताबिच द्विपक्षीय सम्बन्ध राम्रो छ । सरकारले राम्रो काम गरिरहेको छ । नेपालले उन्नति र प्रगति गरोस् भन्ने भारतको चाहना हो । नेपाल हिन्द राष्ट्र होस भन्ने मेरो चाहना छ ।’

दार्चुलाका जयसिंह धामी भारतीय एसएसबीले तुहिन काटिदिएको कारण बेपत्ता भएको कुरा छ, यसमा तपाईँको धारणा के हो भनेर पत्रकारले सोधेको प्रश्नमा उपाध्यायले भने-‘यसमा छानबिन हुनुपर्छ ।’ उनले भारतले नेपालमा नाकाबन्दी नलगाएको पनि दाबी गरे । उनले भने,‘त्यति वेला म यहाँ (नेपाल) आएको थिएँ । तर, बोर्डरमा आन्दोलन थियो । नाकाबन्दी भारत सरकारले गरेको थिएन ।’

उनले नेपाल र भारतबिच खुल्ला सिमाना रहेकोले अलि-अलि समस्या हुनु स्वाभाविक भएको बताए । तर, दुई देशबिचका सीमा विवाद पनि कूटनीतिक माध्यमबाट समाधान हुनुपर्ने उनको भनाई छ । उनले भने,‘नेपाल र भारतबिच ठुलो सीमा छ । नेपालसँग त हाम्रो हृदयको सम्बन्ध छ ।’

Facebook Comments Box