१४ अगस्तलाई भारतले विभाजन विभीषिका स्मृति दिवसका रूपमा मनाउने

सेयर गर्नुहोस

एजेन्सी
नयाँ दिल्ली ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १४ अगस्तमा भारतले विभाजन विभीषिका स्मृति दिवस मनाउने घोषणा गरेका छन्। ७५औँ भारतीय स्वतन्त्रता दिवसको अवसरमा आइतबार मोदीले यस्तो घोषणा सार्वजनिक गरेका हुन्।

‘हामी स्वतन्त्रताको खुसियाली मनाउँछौँ। तर, अझै पनि विभाजनको पीडा हिन्दुस्तानको छातीमा छ। यो पछिल्लो शताब्दीकै एउटा सबैभन्दा ठूलो त्रासदी हो,’ सम्बोधनका क्रममा मोदीले भने।

विभाजनको समयमा अमानवीय स्थितिबाट गुज्रिएका, अत्याचार सहन गरेकाहरूको सम्मानपूर्ण अन्तिम संस्कारसमेत नभएको भन्दै मोदीले उनीहरूको सम्मानमा यो निर्णय गरिएको बताएका छन्। सबै भारतीयको स्मृतिमा स्वतन्त्रताका सेनानीहरू जीवित रहनुपर्ने भन्दै प्रधानमन्त्री मोदीले उनीहरूको आदरका लागि यो दिवस मनाउन लागिएको बताए।

सरकारले शनिबार गरेको यो निर्णयलाई मोदीले स्वतन्त्रता दिवसको अवसरमा विशेष महत्वका साथ उठाएका छन्।

पाकिस्तानले स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको अगस्त १४ लाई भारतले विभाजन दिवसका रूपमा मनाउने भएको हो। मोदी सरकारको यो घोषणाप्रति पाकिस्तानले यसअघि नै आपत्ति जनाइसकेको छ।

Facebook Comments Box