चीनले एकतर्फीरुपले नाका बन्द गर्दा उत्तरी सिमाका नेपालीलाई विविध समस्या

सेयर गर्नुहोस

चीनले नेपालका सबै साना नाकाहरू साउन तथा भदौको पहिलो सातामा गरी वर्षमा दुईपटक खोल्ने गथ्र्यो। दुई वर्षअघि साउन, भदौमा एक साताका लागि खोलेर बन्द गरेका नाका अहिलेसम्म खुलेनन्। जसका कारण ताप्लेजुङदेखि दार्चुलासम्मका सीमा क्षेत्रका बासिन्दा विविध समस्या झेलिरहेका छन्। मुख्य नाकाहरू पनि निर्वाध सहज नहुँदा व्यापार–व्यवसाय प्रभावित भएका छन्।

वुहानमा कोभिड–१९ का बिरामी भेटिएपछि चीनले औपचारिक रूपमा नाका बन्द गरेको थियो। सदरमुकामबाट छ–सात दिनसम्म हिँडेपछि पुगिने सीमावर्ती गाउँहरूमा अहिले बाढीपहिरोका कारण पदमार्ग हिँड्नै नसक्ने गरी भत्किएका छन्। सीमा पनि नखुल्ने, सदरमुकामबाट जाने पदमार्ग पनि बन्द हुँदा उत्तरी सीमा क्षेत्रका बासिन्दामा भोकमरीको चिन्ता छ।

खाद्यान्न संकट आउन थालेपछि गोरखाका केही उत्तरी गाउँहरूमा हेलिकप्टरबाट धेरथोर चामल ढुवानी गरी भरथेग गर्ने प्रयास गरिएको छ। अन्य जिल्लाका गाउँहरू खाद्य संकटको अवस्थामा पुगेका छन्।
अझै नाका खुलेन भने के खाएर बाँच्ने ?
ताप्लेजुङ : संखुवासभाको भोटखोला गाउँपालिका–२ का धोर्ची शेर्पाको घरमा खाद्यान्न सकिन लागेको छ। गत पुसमा ताप्लेजुङबाट ४ दिन लगाएर चामल, नुन, तेल ढुवानी गरेका उनीसहित थुदामका २२ परिवारमा खाद्यान्न अभाव हुन थालेको हो। चीनको रिउ बजारमा आश्रित उनीहरू नाका बन्द भएपछि समस्यामा परेका हुन्। ‘हाम्रो सबै घरायसी सामान खरिद बिक्री गर्ने ठाउँ नै चीनको रिउ बजार हो,’ गाउँबाट एक घण्टा मोबाइल नेटवर्क टिप्ने ठाउँमा पुगेर टेलिफोन सम्पर्कमा आएका धोर्चीले भने, ‘अझै नाका खुलेन भने के खाएर बाँच्ने होला ?’ बर्खायाम पहिरो र हिउँदमा हिमपातका कारण भोटखोला गाउँपालिकाको केन्द्र हटिया र ताप्लेजुङतर्फको बाटोसमेत बन्द हुने भएकाले आफूहरू गाउँमा बन्दी जस्तै भएको उनको भनाइ छ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका स्थानीयले अघिल्लो पुसदेखि गलैंचा बेच्न पाएका छैनन्। वडाध्यक्ष छेतेन भोटेका अनुसार चीनले एकतर्फी रूपमा नाका बन्द गरेपछि दुर्गम हिमाली गाउँमा २ करोड ५६ लाख रुपैयाँ बराबरका गलैंचा थन्किएका छन्।

चीनले ओलाङचुङगोला र संखुवासभाको किमाथाङ्काका बासिन्दाका लागि सातादिन अघि खाद्यान्न उपलब्ध गराए पनि थुदामका लागि भने नदिएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताए। ‘थुदामका लागि माथिबाट खाद्यान्न आएन, हेलिकप्टरबाट ढुवानी गर्ने कि भन्ने योजना छ,’ उनले भने, ‘पैदलमार्गबाट मानिस दु:खले पुग्न सके पनि याक र चौंरी हिँड्न नसक्ने हुँदा ढुवानी सम्भव छैन।’

गत वर्ष एक पटक गाउँपालिकाले हेलिकप्टरबाटै थुदाममा राहत पु¥याएको थियो। पुसमा ताप्लेजुङबाट लगेको चामलले हालसम्म धानिरहेको छ। ताप्लेजुङको फुङलिङमा ५० किलोको एकबोरा चामल २३ सय रुपैयाँ पाइन्छ तर थुदाममा पुग्दा सो परिमाणको चामल ८ हजार ७ सय पर्ने स्थानीयवासी बताउँछन्।

अर्थतन्त्र ठप्प
उत्तरी सीमाका बासिन्दाको मुख्य पेशा पशु (याक र चौंरी) पालन हो। पशु बिक्री गर्ने पनि चीनकै बजार हो। याक र चौंरी बिक्री ठप्प हुँदा कृषकलाई करोडौं रुपैयाँ घाटा भएको छ। फक्ताङलुङ गाउँपालिका–७ याङ्माका पेमा शेर्पाको गोठमा १ सय ५२ वटा याक छन्। त्यसमध्ये ६२ वटा बिक्रीका लागि तयार छन्।

नाका बन्द भएका कारण उनले २०७६ भदौयता याक र चौंरी बेच्न पाएका छैनन्। लामो समयदेखि सीमा नाका नखुल्दा ताप्लेजुङ र संखुवासभाका हिमाली भेगका २ सयभन्दा बढी कृषकले पालेका याक र चौंरीले बजार पाएका छैनन्। याङ्मामा हजारभन्दा बढी बिक्री हुने बेलाका पशु चौपाया गोठमै रोकिएको पेमाले बताए। ‘पशुलाई दानापानी र मान्छेलाई खाद्यान्न पनि रिउबाटै ल्याउँथ्यौं। पहिलेको स्टक सकिन लाग्यो,’ उनले भने, ‘पशुपालन व्यवसाय नै संकटमा पर्यो।’

चौंरीलाई दाना र नुनको अभाव
दोलखा : दोलखाको बिगु गाउँपालिका–१, लाप्चीका कर्मा शेर्पा चौंरीलाई खुवाउने दाना र नुन नपाएर आजित छन्। उनी अघिल्लो वर्षसम्म चिनियाँ सीमावर्ती बजार ङ्यालमबाट दाना र नुनको आयात गर्दै आएका थिए। कोभिड–१९ का कारण चिनियाँ पक्षले नाकाबाट आवत–जावत ठप्प बनाएपछि ल्याउन नपाएका हुन्। कर्माका अनुसार नेपाल तिरबाट ढुवानी महँगो पर्ने भएकाले चिनियाँ बजारबाट दाना ल्याउने गरिएको थियो। ‘नाका बन्द भएपछि दानाको समस्या हुन थालेको छ’, उनले भने, ‘ढुवानी समस्याले यताको दाना ल्याएर चौंरी पाल्न कठिन हुन थालेको छ।’

दाना मात्र नभई चौंरीलाई खुवाउने नुनसमेत ल्याउन नपाएको उनको गुनासो छ। चौंरीलाई चिनियाँ नुन खुवाउनु उपयुक्त हुने उनले बताए। दाना र नुन मात्र हैन सीमावर्ती लाप्चीका करिब २५ घरमा दैनिक उपभोग्य सामानसमेत चिनियाँ बजारबाट ल्याइने गरिएको स्थानीय ल्हाक्पा शेर्पाले बताए। वैवाहिक एवं मितेरी साइनो जोडिएको ङ्यालम बजार झण्डै १५ महिनादेखि आफूहरूका लागि बिरानो भएको उनको भनाइ थियो। ‘व्यापार मात्र नभएर पारिवारिक सम्बन्धसमेत भएको ठाउँमा हामी जान पाएका छैनौं,’ ल्हाक्पाले गुनासो गरे।

महामारीको चपेटामा तातोपानी नाका
सिन्धुपाल्चोक : नेपाल चीन व्यापारको पहिलो र महत्वपूर्ण मानिएको तातोपानी नाका लगातार प्रकोप र महामारीको चपेटामा पर्दा व्यवसायको लयमा फर्कन सकेको छैन।

२०७२ को भूकम्पदेखि ठप्प जस्तै भएको यो नाका कोभिड–१९ को महामारीपछि पुन: बन्द हुन पुगेको हो। कोभिड संक्रमणकाबीच बामे सर्न थालेको नाका अरनिको राजमार्गमा गएको पहिरोले पुन: ठप्प भएको छ। भूकम्पपछि आफ्नो संरचनामा पूर्ण क्षति पुगेको भन्दै चीन सरकारले बन्द गरेको नाका भूकम्पको चार वर्षपछि २०७६ जेठ ५ बाट आंशिक रूपमा सुचारु भएको थियो। भूकम्पपछि बिस्तारै लय लिन थालेको नाकाबाट हुने व्यवसाय गत वर्ष पुन: कोभिड–१९ को चपेटामा प¥यो। कोभिडपछि केही मात्रामा हुक एण्ड ड्रपको माध्यमबाट सुरु गरेको व्यापार अरनिको राजमार्गमा पहिरो गएपछि असार पहिलो साताबाट पुन: ठप्प भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। ‘आंशिक रूपमा केही सामान आउन सुरु भएको थियो तर राजमार्गमा पहिरो गएपछि त्यो पनि बन्द भएको छ’, खत्रीले भने।

२०७२ सालको भूकम्पअघि नाकाबाट स्थानीयले खुद्रा व्यापार गरेर आफ्नो जीविकोपार्जन गर्ने गरेका थिए। सीमाको लिपिङ बजारबाट सामान ल्याएर स्थानीय बजारमा बिक्री गर्ने झण्डै एक हजार पाँच सय स्थानीय भूकम्पपछि विस्थापित भएको भोटेकोसी गाउँपालिका–१, तातोपानीका वडाअध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए।

‘सबै व्यवसायीले सहज रूपमा व्यापार गर्ने वातावरण निर्माणको पहल भइरहेको थियो कोभिडले नाका पुन: ठप्प भयो’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले भने, ‘कोभिड र राजमार्गको समस्या समाधान भएपछि सबै व्यवसायीले सामान आयात निर्यात गर्न सक्ने वातावरण निर्माण गर्न पहल गर्नुपर्छ।’

रसुवा : कोभिड–१९ को संक्रमणअघि दैनिक तीन सय कन्टेनर सामान आयात हुँदै आएको रसुवागढी नाका पछिल्लो समय दैनिक सात कन्टेनरमा सीमित भएको छ।गोर्खाको साम्दो गाउँ, जहाँ किन्ने बजार नभएर अनिकालको डर बढेको छ।

चिनियाँ पक्षले रसुवागढीस्थित मितेरी पुलसम्म ल्याएको सामान क्वारेन्टाइनमा बसेका लेबरले अनलोड गर्ने गरी दैनिक पाँच सात कन्टेनर सामान आयात हुने गरेको रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए। रेग्मीकाअनुसार कोभिड अघि केरुङसम्म नेपाली कन्टेनर जाने गरेका थिए। ‘अहिले चिनियाँ गाडीले नै ल्याएर पुलमा सामान झारिदिन्छन्’, रेग्मीले भने, ‘चिनियाँले खटाएर पठाएका सामान मात्र यहाँसम्म आइपुग्छन्।’ केही मात्रामा आयात भए पनि पछिल्लो एक वर्षदेखि नाकाबाट निर्यात पूर्ण रूपमा ठप्प छ। कोभिड संक्रमणपछि आफ्नो उपभोग र स्थानीय बजारका लागि स्थानीयले ल्याउने सामानमा समेत बन्देज लगाइएको छ। स्थानीयलाई नाकाबाट प्रवेश नदिएकाले स्थानीय उपभोगका सामानसमेत ल्याउन नपाएको स्थानीय बताउँछन्। तातोपानी नाका बन्द भएपछि वैकल्पिक नाकाका रूपमा उदाएको रसुवागढी नाका समेत चिनियाँले खटाएको सामान आयातमा सीमित भएको छ।

रसुवागढी नाकाबाट वार्षिक रूपमा अर्बौं रुपैयाँका सामान नेपाल आयात हुने गरेको छ। हाल नेपालबाट चीनतर्फ जाने सामग्रीको निर्यात ठप्प तथा शून्य छ। कोरोना संक्रमण घट्दै गएका कारण नाका व्यवस्थित रूपमा सन्चालन गर्न पहल भइरहेको रसुवाकी सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाको भनाइ छ।

खाद्यान्न हाहाकारको चिन्तामा उत्तरी गोरखा
गोरखा : स्थानीय उत्पादनले तीन महिना पनि राम्ररी नथेग्ने चिनियाँ सीमानाका गाउँहरूमा अहिले खाद्यान्न हाहाकारको स्थिति छ। दुई वर्षदेखि नाका ठप्प हुँदा चामल, पिठोलगायत खाद्यान्न हाहाकार हुन थालेको चुमनुब्री गाउँपालिका–३ का विशाल हिमाली घले बताउँछन्। उनका अनुसार बाढी, पहिरोका कारण अहिले सदरमुकामबाट पनि खाद्यान्न ओसार्न सक्ने अवस्था छैन।

सीमावर्ती गाउँ पुग्न सदरमुकामबाट एक दिनको बाटो गाडीमा र चार दिन पैदल हिँड्नुपर्छ। स्थानीय उत्पादन पनि राम्रो नहुने, सदरमुकामबाट टाढा रहेको र सीमाना पनि लामो समयदेखि ठप्प हुँदा जनजीवन धेरै कठिन भएको अर्का स्थानीय दावा नोर्बु लामा बताउँछन्। ‘गाउँको उत्पादनले दुई÷तीन महिनाभन्दा धेरै समयलाई खान पुग्दैन’, लामा भन्छन्, ‘बाँकी नौ महिनालाई पुग्ने सामान चीनको कोङदाङबाट ल्याउनुपर्छ। तर, दुई वर्ष भयो, नाका खुलेको छैन। तल्लो क्षेत्रको बजारबाट सामान किनेर ल्याउन बाटो छैन, धेरै महँगो पनि पर्छ। तिब्बती बजारमा पाइने कतिपय सामान तलका बजारहरूमा पाइँदैनन्।’

चिनियाँ सरकारले सामागाउँको रुइला नाका वर्षमा एकफेर र छेकम्पारको मूलाढाज्यान(ङुइला) नाका बाह्रै महिना खुलाउने गथ्र्यो। तर, कोरोनाका कारण देखाएर लामो समयदेखि एकातर्फी रूपमा नाका बन्द गरेको चुमनुब्री गाउँपालिका–७ का वडा अध्यक्ष पासाङ फुञ्जो लामाले बताए।

यत्तिका समय भइसक्यो, अझै नाका खुल्ने सम्भावना छैन’, उनी भन्छन्, ‘गाउँलेलाई अत्यावश्यक घ्यू, चियापत्तिहरू कत्ति पनि छैन। यो सामान तल्लो क्षेत्रको बजारमा पनि पाइँदैन। त्यसैले हामीलाई समस्या भएको छ।’

समस्या उत्पन्न भएपछि काठमाडौंस्थित चिनियाँ दूतावास र ल्हासास्थित महावाणिज्य दूतावासको कार्यालयमा नाका खोल्न पहल गरिदिन पत्राचार पनि गरिएको छ तर सुनुवाइ भएको छैन। ‘नाका खुलाउन हामीले नागरिकको स्तरबाट गर्ने सबै पहल ग¥यौं। वडा कार्यालयको तर्फबाट चिनियाँ दूतावासमा, तिब्बतको ल्हासामा रहेको महावाणिज्य दूतावासको कार्यालयमा पत्राचार ग¥यौँ तर सुनुवाइ भएको छैन’, वडा नं. १ का सदस्य निमा दोर्जे लामाले भने, ‘अब सरकारले नै पहल गर्नुपर्ने देखिन्छ।’

कहिले खुल्ला कोरला ?
मुस्ताङ : गण्डकी प्रदेशको लाइफलाइन मानिने मुस्ताङको उत्तरी कोरलानाका कहिले खुल्ला भन्ने पर्खाइमा उपल्लो मुस्ताङी व्यग्र प्रतिक्षामा छन्। कोरोनाको कारण देखाउँदै चिनियाँ सरकारले दुई वर्षदेखि बन्द गरेको कोरलानाका खुले आन्तरिक व्यापार, व्यवसाय सहज हुने उनीहरूको अपेक्षा छ।

चीन सरकारले कोरलानाका खोल्ने दीर्घकालीन लक्ष्यअनुरूप कोरलानाकामा २०७४ सालदेखि पूर्वाधार निर्माण सुरु गरेको थियो। उसले कोरलानाकामा भन्सार, अध्यागमन, सुरक्षापोस्ट र सुक्खा बन्दरगाह लगायतका भव्य संरचना तयार गरिसकेको छ। मुस्ताङको उत्तरी कोरलानाका खोल्ने लक्ष्यअनुसार नेपाल सरकारले २०७४ सालदेखि धमाधम बेनी, जोमसोम, कोरला सडक निर्माणको काम अघि बढाएको मुस्ताङबाट विजयी गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टको भनाइ छ। दुई देशबीचको व्यापारिक मार्ग विस्तारका लागि चीन पक्षले कोरलानाकामा संरचना निर्माण गरिसकेकाले नेपाल पक्षले पनि छिटोभन्दा छिटो पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उनले बताए।

कमाइ हुने बाटै बन्द
डोल्पा : से–फोक्सुण्डो गाउँपालिकास्थित १४ नम्बर सीमास्तम्भ रहेको ट्याटो र १५ नम्बर पिलर रहेको मर्युम नाका बन्द भएको दुई वर्ष भयो। चीन सरकारले एकतर्फी रूपमा नाका बन्द गर्दा जनजीवन कष्टकर भएको वडा नं. ४ का वडाअध्यक्ष पेमावाङ्जेन लामा बताउँछन्।

‘यहाँको पूरै जनजीवन तिब्बती बजारमा निर्भर हो’, वडाअध्यक्ष लामा भन्छन्, ‘नाका ठप्प भएको दुई वर्ष हुन लाग्यो। खुल्ने कुनै छाँटकाँट छैन। समस्या अतिसार भइसक्यो।’

यहाँको उत्पादनले स्थानीयवासीलाई तीन महिनालाई पनि भरथेग हुँदैन। ‘यहाँ उवा मात्र उत्पादन हुन्छ। यसले खान पुग्दैन’, वडाअध्यक्ष लामा भन्छन्, ‘यहाँ यार्सागुम्बु छ, पशुपालन छ तर नाका बन्द भएपछि केही पनि बेच्न पाइएको छैन। बाँच्न र बचाउन मुस्किल भइसक्यो। एक साताका लागि मात्र भए पनि खुलाइदिए हुन्थ्यो।’

यार्सागुम्बाको करिब ३० करोडको कारोबार ठप्प
मुगु : सदरमुकाम गमगढीबाट ९३ किलोमिटर टाढा रहेको मुगुर्मारोङ गाउँपालिका र तिब्बत जोड्ने नाक्चेलाग्ना नाका दुई वर्षदेखि बन्द हुँदा मुगुमकार्मारोङ गाउँपालिकामा बसोबास गर्ने स्थानीय बासिन्दा प्रत्यक्ष समस्यामा छन्।

नाक्चेलाग्ना नाका दुई वर्षदेखि बन्द हुँदा तिब्बतको हर्वामा हाटबजार दुई वर्षदेखि लाग्न सकेको छैन। आपूmलाई वर्षभरि पुग्ने खाद्यान्न लत्ता कपडादेखि अन्य दैनिक उपभोग्य सामग्री यही हाटबजारबाट जोहो गरेर ल्याउने मुगुम कार्मारोङवासीले दुई वर्षयताबाट एकतर्फी रूपमा तिब्बतले नाका बन्द गर्दा स्थानियबासी समस्यामा परेका हुन।

यो क्षेत्रमा वर्षभरि गरेको खेतीले तीन महिना पनि खान नपुग्ने मुगुम कार्मारोङ गाउँपालिका सूचना अधिकारी तीर्थराज शाहीले बताएका छन्। दुई वर्ष यताबाट तिब्बतीहरूले खबर पठाएनन् र सरकारी निकायले समेत नाका खुल्ने कुनै पहल गरेको गुनासो मुगुम कार्मारोङ गाउँपालिका–२ का वडा अध्यक्ष कार्मा तामाङले बताए। ‘अहिले नाका बन्द हुँदा केही गतिविधि हुन सकेको छैन। स्थानीयवासीले चार, पाँच दिन लगाएर गमगढीबाट खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ’, गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए। सीमा क्षेत्रका बासिन्दाले संकलन गरेको यार्सागुम्बु, जडिबुटीको मुख्य बजार नै हर्वामा लाग्ने हाटबजार हो। हरेक वर्ष २० देखि ३० करोड रुपैयाँ बराबरको यार्सागुम्बालगायत अन्य जडिबुटीसमेत यो नाकाबाट तिब्बतीहरूसँग कारोबार गर्छन्। दुई वर्ष यताबाट नाका बन्द हँुदा स्थानीयहरूले यार्सा संकलन गरेका छैनन्।

राहतको चामल पनि सकियो
हुम्ला : चीन सरकारले हुम्लास्थित हिल्सा र लाप्चा नाका बिगत दुई वर्षदेखि एकतर्फी रूपमा बन्द गर्दा सीमा आसपासको गाउँबस्तीको जनजीवन कष्टकर बनेको छ। नुनदेखि सुनसम्म तिब्बत बजारमा निर्भर रहेको नाम्खा गाउँपालिकाअन्तर्गतका हल्जी, तिल र जाङ गाउँका करिब १ हजार ५ सय जनाको जनजीवन कष्टकर भएको हो।

लामो समयको नाकाबन्दीका कारण खाद्यान्नको हाहाकार हुने भएपछि गत वैशाखमा सुदूरपश्चिम प्रदेश सरकारले ढुवानी गरी अनुदानको चामल ती बस्तीमा पु¥याएको थियो। त्यसले लामो समयसम्म थेग्न नसकेपछि अहिले गाउँ–गाउँमा खाद्य संकट हुन थालेको स्थानीयवासीको गुनासो रहेको स्थानीय पत्रकार नवराज महताराको भनाइ छ।

माथि जाऊँ नाकाबन्दी, तल झरौं बाटो छैन
दार्चुला : दार्चुला र चीन जोड्ने ताक्लाकोटनाका बन्द हुँदा अहिले दार्चुला तथा सुदूरपश्चिमका अधिकांश जिल्लाहरूलाई समान आयात निर्यातमा समस्या भएको छ। विगत दुई वर्षदेखि नाकाबन्दी हुँदा ताक्लाकोटबाट दार्चुलासम्म सामान ल्याउन नसकिएको ब्यासका स्थानीय बासिन्दा पदमराज भट्ट बताउँछन्।

‘न बाटो छ, न नेपालतर्फ सुरक्षा र भन्सार नै छ’, उनले भने, ‘कोरोना कहरले चाइना नाका बन्द भएको झन्डै २ वर्ष हुन लाग्यो। कहिले खुल्ने नखुल्ने केही अत्तोपत्तो छैन।’ सीमानाका बन्द हुँदा जनजीवन कष्टकर हँुदै गएको उनको भनाइ छ।

तिङ्कर दार्चुलाको लाइफलाइन भएकाले उक्त नाका सुचारु गर्नुपर्ने दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिंह थापाको भनाइ छ। ‘तिङ्कर, दार्चुला सडक सुचारु होस् भन्ने दार्चुलेली जनताको व्यग्र प्रतिक्षाको विषय हो’, थापा भन्छन्, ‘कूटनीतिक सम्बन्ध विस्तार र उक्त सडक समयमै सुचारु हुन सकेन भने दार्चुलावासीको लाइफलाइनमा ठूलो जटिलता आउँछ।’ नाका सुचारु नभए सीमावर्ती क्षेत्रका बासिन्दा भोकभोकै मर्नुपर्ने अवस्था रहेको स्थानीयवासीको भनाइ छ। अन्नपूर्णा पाेष्ट

Facebook Comments Box