सहिद पत्नीमाथि अन्याय: आफूले पार्टी नछाडेको स्पष्टीकरण दिँदादिँदै पनि कारबाही

काठमाडौँ । नेकपा माओवादी केन्द्रले एक सहिद पत्नीलाई आफूले पार्टी नछाडेको स्पष्टीकरण दिँदादिँदै पनि कारबाही गरेर पार्टीबाट गलहत्त्याएको खुलासा भएको छ । रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख रहेकी कान्ति देवीलाई माओवादी केन्द्रले यसरी अपमानपूर्वक ढङ्गले कारबाही गरेको खुलासा भएको हो ।
गत वैशाखमा कान्ती देवीलाई नेकपा माओवादी केन्द्र रौतहट जिल्ला समितिका सचिव देवेन्द्र पटेलले पार्टी छाडेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका थिए । पटेलले सोधेको स्पष्टीकरणमा कान्ती देवीले वैशाख ६ गते स्पष्टीकरण बुझाएकी थिइन् ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ को उपदफा १ र २ अनुसार कार्य गरेको भन्दै ‘सोही ऐनको दफा ३२ अनुसार किन कारबाही नगर्ने ?’ सचिव पटेलले कान्तीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।
यसको जवाफमा उपमेयर कान्तीले जनआन्दोलनको समयदेखि नै आफ्नो घरवास र ज्यानको परवाहसमेत नगरी भूमिगत रही आन्दोलनरत रहेको स्मरण गराउँदै पार्टीले एउटा असहाय सहिद परिवारप्रति राजनीति फेरबदल गरेको आरोप निराधार रहेको बताएकी थिइन् ।
‘एउटा सहिद असहायको नाताले मेरो आत्मा रोएको छ’ कान्तिले पार्टीलाई लेखेको स्पष्टीकरणमा भनेकी छिन्, ‘पार्टीले गरेको हरेक औपचारिक कार्यक्रममा सहभागी भएकी छु ।’
रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका प्रभु साहको निर्वाचन क्षेत्र अन्तरगत पर्दछ । त्यहाँ सङ्घीय सांसद र मन्त्री आउँदा उनीहरूसँग भेटघाट कान्ती देवीले बताएकी छिन् ।
कान्ति देवीको स्पष्टीकरणमा भनिएको छ, ‘कुनै सङ्घीय सांसद वा मन्त्री आफ्नो कार्यक्षेत्रमा आउँदा त्यहाँ गएर आफ्नो सहिद परिवारको समस्या गाउँ ठाउँको विकासका बारेमा छलफल गर्दैमा त्यो पार्टी परित्याग हो भन्ने म केही भन्न सक्दैन । म कुनै अन्य पार्टी क्रियाकलापमा लागेको छैन भनी प्रतिबद्धता दिलाउन चाहन्छु ।’
कान्तीले आफ्ना पति माओवादी जनयुद्धमा रौतहट जिल्लाबाट पहिलो सहिद भएको समेत बताएकी छन् । कान्ति असाध्यै गरिब परिवारकी सदस्य हुन्, जसले २०७४ को चुनावमा माओवादीका तर्फबाट उपमेयरमा जित हासिल गरेकी थिइन् ।
कान्तिका पति रौतहटका प्रथम माओवादी सहिद मनरुप महतो हुन् । उनी २०५६÷५७ ताका माओवादीको जनमुक्ति सेनाका रौतहट कमान्डर थिए, जो सरकारी पक्षबाट मारिए ।
सहिदपत्नी माथिको अन्याय
कान्तीले आफू माओवादीमै रहेको भन्दै स्पष्टीकरण दिएको ६ दिनपछि माओवादी केन्द्रले वैशाख १२ गते कान्ती देवी लगायत २०७४ सालमा स्थानीय निर्वाचनमा विजयी जनप्रतिनिधिलाई ‘दल त्याग गरेको’ भन्दै निर्वाचन आयोगमा एकमुष्ट रूपमा पत्र पठाएको थियो ।
पार्टी अध्यक्ष प्रचण्डको हस्ताक्षरसहित माओवादीले यस्तो पत्र पठाएपछि निर्वाचन आयोगले कान्ती देवीसहितका जनप्रतिनिधिहरुले दल त्याग गरेको सूचना निकालेको थियो ।
तथापि, अहिले अदालतले कान्ति देवी लगायत सबै जनप्रतिनिधिको पद पुनःबहाली गराइदिएको छ । र, सहिदपत्नी कान्तिले माओवादीबाट न्याय नपाए पनि अदालतबाट न्याय पाएकी छिन् । राताेपाटि
