भारतले साउनमा काेभिशिल्डकाे दाेस्राे डाेज पठाउने

काठमाडौं ।
नेपाललाई खोप दिनेबारे भारतीय विदेशमन्त्री जयशंकर र उद्योग वाणिज्यमन्त्री गोयलबीच छलफलमा साउन दोस्रो सातापछि उपलब्ध गराउने भएकाे छ।
नेपालले अबको दुई साताभित्र कोभिसिल्ड खोप उपलब्ध गराइदिन भारत सरकारमार्फत तथा प्रत्यक्ष रूपमा पनि खोप उत्पादक सेरम इन्स्टिच्युटसँग आग्रह गरेको छ । करिब १२ हप्ताअघि पहिलो डोज लगाएका १३ लाख नेपाली नागरिकको अवस्थालाई मानवीय रूपमा ध्यान दिन भन्दै नेपालले भारतसँग निरन्तर लबिङ गरेको छ । पछिल्लोपटक भारतीय उद्योग वाणिज्यमन्त्री पियूष गोयलमार्फत नेपालले भारत सरकारसँग खोपबारे छलफल गरेको छ ।
भारतीय अनलाइन पत्रिका द प्रिन्टले उच्च सरकारी स्रोतलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारअनुसार भारतले साउन दोस्रोदेखि तेस्रो साताबाट नेपाल, बंगलादेश, भुटान र श्रीलंकामा खोप निर्यात खुला गर्ने भनेको छ । यद्यपि खोप निर्यात खुला गर्ने विषयमा भारत सरकारले औपचारिक रूपमा केही बोलेको छैन । प्रिन्टका अनुसार भारतले अरू मुलुकलाई नभएर छिमेकमा उसको सर्वोत्तम प्राथमिकतामा परेका नेपालसहितका मुलुकलाई मात्रै खोप निर्यात गर्ने जनाएको छ । अगस्ट महिनासम्म भारतले ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । त्यसपछि भारतले पुनः खोप निर्यात गर्ने जनाएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतले खोपमैत्रीअन्तर्गत गत जनवरीदेखि अप्रिलसम्म ६६ लाख डोज खोप ९० भन्दा बढी मुलुकलाई दिइसकेको छ ।
नेपालले त्यसवेलासम्म ढिलो हुने भन्दै पहिलो डोज खोप लगाएका वृद्धवृद्धाहरूको अवस्थालाई मानवीय रूपमा लिइदिन र खरिद गरेको १० लाख डोज खोप कम्तीमा उपलब्ध गराइदिन कूटनीतिक प्रयास तीव्र पारेको छ । सरकारी स्रोतका अनुसार दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले पछिल्लोपटक शुक्रबार भारतीय उद्योग तथा वाणिज्यमन्त्री पियूष गोयलसँग भिडियो कल कन्फरेन्समार्फत खोप उपलब्ध गराइदिन आग्रह गरेका थिए । भारतीय मन्त्री गोयलले नेपाललाई खोप उपलब्ध गराउन आफ्नोतर्फबाट प्रयास गर्ने आश्वासन दिएका थिए । उनले नेपाललाई समयमै मल उपलब्ध गराउन सहजीकरण गर्नेसमेत बचन दिएका थिए ।
खोपप्रति प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री केपी ओलीनिकट स्रोतका अनुसार शुक्रबारै गोयलले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग नेपालको खोप मागबारे टेलिफोनमा छलफल गरेका छन् । ‘भारत सरकारले सक्दो मद्दत गर्ने आश्वासन दिएको छ, प्रधानमन्त्री आफैँले खोपका विषयमा चासो व्यक्त गरिरहनुभएको छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो । भारतको मन्त्रिपरिषद्मा गोयल नेपालप्रति नरम नेता मानिन्छन् । यसबारे भारतीय विदेश मन्त्रालयका अधिकारीहरूसँग दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले समन्वय गरिरहेका छन् भने परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजनले पनि भारतको उत्तरी डिभिजनसँग ताकेता गरिरहेको छ ।
नेपालले भारतबाट २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप ल्याएको छ । नेपालले ११ लाख डोज खोप भारत सरकारको अनुदान, तीन लाख ४८ हजार डोज खोप कोभ्याक्सअन्तर्गत हो भने १० लाख डोज खोप सेरम इन्स्टिच्युटसँग खरिद गरेर ल्याएको हो । सेरमले नेपाललाई गत मार्चमै खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि सुरुमा खोप उत्पादन गर्ने कच्चा पदार्थ अभावका कारण उत्पादन नै हुन नसकेको जवाफ दिएको थियो । भारतमा कोरोनाको दोस्रो लहर व्यापक भएपछि भारतले खोप निर्यातमा रोक लगाएको थियो । भारतले उसका नागरिकलाई हाल दैनिक ८० लाख डोज खोप लगाउन थालेको छ ।
