पाकिस्तानमा सत्तारुढ पार्टीकी नेतृले कलरमा समातेर विपक्षी नेतालाई हानिन थप्पड

सेयर गर्नुहोस


एजेन्सी ।
संसारभर न्युज च्यानलमा हुने बहसमा प्यानलिस्टबीच चर्काचर्की त सामान्यजस्तै भइसकेको छ । तर, कहिलेकाहीँ यो भनाभन कुटाकुटमा गएर टुंगिनुचाहिँ अनौठो छ । पाकिस्तानमा यस्तै भएको छ ।

टीभीको लाइभ शोमा बहस भइरहेको थियो । यो चर्किंदै गयो । सत्ताधारी पार्टीका नेतालाई रिस उठ्दै गयो । पछि हात उठेर विपक्षीको गालामा गएर बजारियो । त्यसपछि के भयो ? के हुनु, भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

पाकिस्तानको एक निजी च्यानलमा बहसबाजी चलिरहेको थियो । यसका प्यानलिस्ट थिए, सत्ताधारी र विपक्षी पार्टीका नेता । पञ्जाव मुख्यमन्त्रीको विशेष सहायक डा. फिरदौस आशिक अवान र विपक्षी पीपीपी एमएनएका सांसद कादिर मन्दोखेलबीच चर्काचर्की पर्‍यो । दुवै जना रातोपिरो हुँदै एकअर्काविरुद्ध बोलिरहेका थिए । अब ठूलो स्वर गरेर मात्र नपुग्ने देखेपछि यी दुई नेता गालीगलौजमा उत्रिए ।

गालीगलौज पनि अपुग लागेपछि डा. फिसदौसले आफ्नो हात रोक्नै सकिनन् र कलरमा समातेर कादिरलाई थप्पड हानिन् । हेर्दाहेर्दै त्यो क्लिप सोसल मिडियामा छ्यापछ्याप्ती भएको छ ।

खासमा बहसचाहिँ भ्रष्टाचारको मुद्दालाई लिएर भइरहेको थियो । यस क्रममा कादिरले फिरदौसको पार्टी तथा नेताहरूलाई भ्रष्टाचारका कैयौँ आरोप लगाए । यसबाट फिरदौस चुरचुर भइन् ।

सामाजिक सञ्जालमा प्रसारित एक भिडियो क्लिपमा इमरान खानको पार्टी पीटीआईकी नेतृ फिरदौस विपक्षी नेता मन्दोखेललाई गाली गर्दै गरेकी देखिन्छिन् । र, केही बेरलगत्तै उनले मन्दोखेलको गालामा थप्पड मार्छिन् । स्थिति यति बिग्रिएको थियो, दुई नेतालाई स्टुडियो, एमसीआरमा भएका प्राविधिकसम्म आएर छुटाउनुपरेको थियो ।

भिडियो भाइरल भएपछि फिरदौस आशिक अवानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । मानिसहरू त यस्तो देखेपछि के चुप बस्थे । एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘उम्दा प्रदर्शन, दुईमा कोही कम छैनन् । एक डाक्टर हुन्, अर्का पीएचडी होल्डर ।’ अर्का एक ट्वीटे लेख्छन्, ‘इमरान खानको नयाँ पाकिस्तान !’

Facebook Comments Box