१४ बैशाख २०८१, शुक्रबार

काेराेना महामारीमा सरकार हरायाे :प्रतिपक्षी

फाइल तस्बिर

विराटनगर/ १६ वैशाख । देशभरि कोरोना महामारीको दोस्रो लहरले जनजीवन प्रभावित हुँदा प्रदेश सरकार हराएको प्रतिपक्षी दलका नेताहरुले बताएका छन् ।
संक्रमणका कारण जनता छटपटाइरहँदा प्रदेश १ सरकार भने हराएको उनीहरुको आरोप छ । कोरोना महामारीको पहिलो लहरमा देखिनेगरी काम गरेको प्रदेश १ सरकार दोस्रो लहर शुरु हुँदै गर्दा कामबाट विमुख भएको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आरोप लगाए ।
‘अहिले सरकार संक्रमित र मृतकको संख्या गन्नेबाहेक थप काम गर्न सकेको छैन,’ उनले भने, ‘नागरिक स्तरबाट निर्माण भएको अस्पतालमा माकुराले जालो लगाउने अवस्था छ, संक्रमतिले उपचार पाउँदैनन् ।’

प्रतिपक्षी दलहरु महामारीमा लड्न सरकारलाई सघाउन तयार रहेपनि सत्ता पक्ष कामबाट विमुख भएको उनले बताए ।

‘हिजो अस्पताल, क्वारेन्टिन, आइसोलेसन बनाएर सरकारले देखिने गरी काम गरेको थियो,’ उनले भने, ‘अहिले सरकार छ भन्ने अनुभूति जनताले गर्न पाएका छैनन् ।’ सरकारले उपचारको व्यवस्था गर्न नसक्ने बताउँदै उनले संक्रमणबाट जोगिन आग्रह गरे ।

नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की प्रदेश सरकार काम गर्न छाडेर भौतारिएको बताउँछन् । ‘यहाँ एमालेको पार्टी कार्यालय मात्रै छ, प्रदेश सरकार हरायो,’ उनले भने, ‘त्रासमा रहेका जनतालाई सम्बोधन गर्नुको साटो सरकार रक्सीको ब्राण्डिङ गर्न हिंडेको छ ।’

महामारीमा सरकार भएको जनताले अनुभूति गर्न नपाएको उनले बताए । ‘संक्रमितले उपचार नपाउने अवस्था छ, सरकार भएको अस्पताल पनि चलाउन सक्दैन, उनले भने, ‘महामारीमा रक्सी ब्राण्डिङ गर्ने अभियानमा रहेको सरकार छ भन्ने अनुभूति हामीले गर्न पाएका छैनौं ।’

संक्रमितको सङ्ख्या बढिरहँदा आइसोलेसन र क्वारेन्टिन निर्माणमा प्रभावकारी काम गर्न नसकेको उनले बताए ।

सत्तारुढ नेकपा एमालेका नेताहरु पनि सरकार कर्तव्यबाट विमुख भएको बताउँछन् । भएको संरचना पनि चलाउन नसकेको सत्तापक्षीय सांसदको गुनासो छ । पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे महामारीमा तयार रहेको अस्पताल चलाउन सरकारले नसकेको बताउँछन् ।

‘पुस ५ गते नै हामीले नागरिक स्तरबाट सुविधा सम्पन्न अस्पताल उद्घाटन गरेका थियौं,’ उनले भने,‘ अस्ति अस्पताल हेर्न पुग्दा दुःख लाग्यो । सरकारले बनेको अस्पताल चलाउन सकेन ।’ जनशक्ति व्यवस्थापन गरी काम नगरेका कारण संक्रमितले दुःख पाएको उनले बताए ।

‘मैले राजीनामा दिनुअघि स्वीजरल्याण्ड सरकारसँग अक्सिजन प्लान्ट स्थापना गर्ने सम्झौता भएको थियो,’ उनले भने, ‘दुई महिनाभित्र प्लान्ट राख्ने सम्झौता थियो तर अझै प्लान्ट स्थापनाको सुरसार भएको रहेनछ ।’ अस्पतालको फोहोर व्यवस्थापनका निम्ति गरेका काम पनि सरकारले अघि नबढाएको उनको गुनासो छ ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सरकारले संक्रमितको उपचारको प्रबन्ध मिलाएको बताउँछन् । उनका अनुसार प्रदेश सरकारले अक्सिजन प्लान्ट सञ्चालनको तयार गरिरहेको छ । नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने उनले बताए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट