१४ बैशाख २०८१, शुक्रबार

अनलाइन ठगी प्रकरण : चिनियाँ नागरिक नै मुख्य याेजनाकार

काठमाडौं ।
काठमाडौं । डेढ महिनाअघि काठमाडौंका सुरेश अधिकारी (नाम परिवर्तन) लाई अनलाइन व्यापारका लागि राम्रो अफर आयो। मनग्य मुनाफा हुने देखेपछि ह्वाट्सएपबाट आएको उक्त प्रस्तावलाई उनले सहर्ष स्वीकार गरे। प्रस्तावअनुसार सुरुमा ५० हजार रुपैयाँ लगानी गर्नुपर्ने थियो। यसरी लगानी गरेबापत लगानीको ३० प्रतिशत मुनाफा उनलाई आउँथ्यो। केही सामान किनेर अनलाइनबाट बेच्दा ५० हजार लगानीमा १५ हजार रुपैयाँ नाफा आउने भएपछि उनी व्यापारमा लागे। उनले किनेको सामान धेरैजसो अर्जेन्टिनामा बिक्री हुन्थ्यो।

ओभर स्टक नामको वेबसाइटबाट उनको अनलाइन व्यापार चल्थ्यो। सुरुमा उनले ५० हजार रुपैयाँ हालेर सामान किने। त्यसलाई फेरि अनलाइनबाट नै केही समयमै बिक्री पनि गरे। बिक्री भएको केही समयमा नै १५ हजार रुपैयाँ उनको खातामा आयो।

सुरेशले व्यापारमा लगानी बढाउन उपयुक्त ठाने। त्यसपछि १ लाख रुपैयाँ लगानी गरे। पहिलेजस्तै सामान लिएर बिक्री गर्दा ३० हजार रुपैयाँ खातामा आयो। यसरी क्रमश: उनले गर्ने लगानीको दर बढ्दै गयो। ५० हजारबाट थालेको व्यापार अब लाखौँमा पुगेको थियो। डेढ महिनामै उनको लगानी ४८ लाख पुग्यो।

४८ लाख लगानी गरेर लिएको सामान बिक्री गरेपछि ३० प्रतिशतभन्दा बढीको मुनाफा उनको भागमा आउने थियो। झन्डै साढे १४ लाख मुनाफामात्र!
तर, अनलाइनबाट हुने व्यापारमा एकाएक सङ्कट आइपर्‍यो। एकजना प्रहरी आएर गैरकानुनी रुपमा विदेशी मुद्राको चलखेल र बिक्री वितरण गरेको भन्दै थ्रेट दिए। त्यसपछि उनको ४८ लाखको न सावा न मुनाफाको रकम नै आयो। उल्टै प्रहरीले पक्राउ गरेर कानुनी कारबाही गर्ला भन्ने चिन्ता उनको जीवनको खातामा थपियो। समय बित्दै गयो। न रकम हात लाग्यो न अनुसन्धानका लागि प्रहरी नै फर्केर आयो।

अति भएपछि उनले ठगिएको महसुस गरे। र, पुगे काठमाडौं उपत्यका अपराध कार्यालय। प्रहरी पनि उनको अनलाइन व्यापार देखेर छक्क पर्‍यो। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गर्‍यो। अनुसन्धान गर्दै जाँदा प्रहरीले पहिचान गर्‍यो -अनलाइन व्यापारको नाममा ठगी धन्दा। यसखाले धन्दाको मुख्य योजनाकार चिनियाँ नागरिक भएको खुल्यो। प्रहरीले नेपालमा यस्तैगरी ठगी गर्ने ९ जना चिनियाँ नागरिकलाई समात्यो। उनीहरुसँगै १० जना नेपाली पनि पक्राउ परे।

पक्राउ पर्नेमा नेपाली नागरिकहरूमा बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा, प्रयास भण्डारी, अर्जुन श्रेष्ठ, अनिता मगरलगायत छन्। यस्तै, चिनियाँ नागरिक हुङ हुएरङ, छु फिजाङ, लान हेङवी, सी गुए यी, सी, सुआङ दिलगायत रहेका छन्।

‘चिनियाँ नागरिक नेपालमा आएर नेपालकै अनलाइनमार्फत् ठगी गर्ने गरेको देखियो। यहाँ धेरै मानिसको करौडौं रुपैयाँ डुबेको देखिन्छ,’ कार्यालयका प्रमुख एसएसपी मनोज केसीले भने।

कसरी चल्थ्यो संगठित रुपमा करोडौंको ठगी?

चिनियाँ नागरिकले नेपालीलाई प्रयोग गरेर अनलाइन व्यापारको नाममा ठगी गर्ने गरेको खुलेको छ। उनीहरूले सुरुमा ह्वाट्सएपमार्फत् अनलाइन व्यापार गर्ने र त्यसबाट लगानीको ३० प्रतिशत नाफा निश्चित हुने भन्दै प्रभावमा पार्ने गरेको खुल्यो।

त्यसपछि उनीहरूलाई ओभर स्टक नामको वेबसाइटमा युजर आइडीमार्फत् व्यापार सिकाउने गरेका थिए। एसएसपी केसीका अनुसार उनीहरूले केही दिन प्रशिक्षक नै राखेर व्यापारको तौरतरिका सिकाएको पाइयो। पहिलो चरणमा १० हजारदेखि ५० हजारसम्म लगानी गराउने। त्यसपछि मात्र लगानी बढाउँदै जाने रणनीति उनीहरुले अख्तियार गरेको देखिन्छ।

बिक्री गर्ने र किन्ने दुवै जना अनलाइनमा नै हुन्छ। भर्चुअल कारोबार नेपालमा भए पनि बिक्री चाहिँ विदेशमा हुने जानकारी लगानीकर्तालाई दिइएको हुन्छ।

सुरेशले पनि ५० हजारमा किनेको सामान अर्जेन्टिनामा बिक्री भएको थियो। सामान बिक्री भयो भएन? बिक्री भएको सामान सिपिङ गरेर कहाँ पुग्यो? उताबाट रकम आयो आएन? सबै अनलाइनबाट ट्र्याक गर्न सकिने व्यवस्था गरेकाले धेरैले विश्वास गर्ने भइहाले। पहिलोपटक कमिसन बापत सुरेशको बैंकमा १५ हजार रुपैयाँ आएको पनि थियो।

यसरी सुरुमा मुनाफाको रकम पठाउने तर १० लाख रुपैयाँभन्दा बढी लगानी भएपछि अनलाइनबाट नै कानुनी समस्या आएकाले बिक्री भएको सामानको मुनाफा नआउने भन्दै झुक्याउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

‘जब ठूलो लगानी हुन्छ। त्यसपछि प्रहरीले थाहा पायो, कानुनी समस्यामा फसिने भयो भन्दै त्रास फैलाएर रकम ठगी गर्ने गरेको देखिन्छ,’ एसएसपी केसीले भने।

सुरेशको पनि ४८ लाख रुपैयाँ लगानी भएपछि कानुनी समस्या भएको भन्दै रकम गायब भएको थियो। उनीहरूले यसरी ठगी गर्न चार वटा बैंक खाता प्रयोग गरेको फेला परेको छ। एनआइसी एसिया बैङ्कमा रहको चार वटा खाताबाट डेढ महिनामा १ करोड ६८ लाखको कारोबार भएको देखिन्छ।

प्रहरीको अनुसन्धानमा बैङ्क खाताकै आधारमा बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा र प्रयास भण्डारी पक्राउ परेका छन्। उनीहरूले आफ्नो खाताबाट पैसा निकालेर दिए बापत मासिक १० हजार रुपैयाँ पाउने गरेको खुलेको छ। यसरी खाताबाट पैसा निकाल्ने र जम्मा गरेर चिनियाँ नागरिकलाई दिने काम भने अर्जुन श्रेष्ठले गरेको एसएसपी केसीले बताए। उनलाई रकमको ओसारपसार गर्न चिनियाँ नागरिकले स्कुटर समेत किनिदिएको देखिएको छ।

यस समूहले कोठामा नै बसेर अनलाइनबाट सामान बिक्री भएको, सिपिङ गरेको र रकम पठाएर झुक्याउने गरेको देखिन्छ। ठूलो रकम लगानी भएपछि रकम होल्ड गरेर उनीहरुले ठगी गर्दै आएको पाइएको छ। उनीहरूले अन्य १० वटा बैंक एकाउन्ट समेत प्रयोग गरेको खुलेको छ। यी एकाउन्टमा १० करोड भन्दा बढी कारोबार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

‘बाइस जनाभन्दा बढीको रकम ठगिएको १० वटा एकाउन्टबाट खुल्छ। पीडित आफैँ पनि कारबाहीमा पर्ने डरले खुलेर उजुरी दिन नआउँदा अनुसन्धानमा थप जटिलता देखिएको छ,’ एसएसपी केसीले भने।

प्रहरीले चिनियाँ नागरिकलाई काठमाडौंको बुढानीलकण्ठ, गल्फुटार र चण्डोलबाट नियन्त्रणमा लिएको छ। पक्राउ परेका केही चिनियाँ नागरिक गैरकानुनी रुपमा नेपालमा बसोबास गरेको देखिएको छ। तीन जनाको राहदानी समेत प्रहरीले फेला पार्न सकेको छैन।

अनलाइन व्यापारको नाममा ठगी बढेकाले यस्ता व्यापार गर्दा होसियार हुन प्रहरीले आग्रह गरेको पहिलाेपाेष्टमा खबर छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट