१४ बैशाख २०८१, शुक्रबार

चीनले अमेरिकालाई उछिन्दै छ भन्नु भ्रम हो , भारतले उछिन्नेछ ।

शून्य–कोभिड नीतिको असफलताका कारण चिनियाँ शक्तिको पुनर्मूल्यांकन भइरहेको छ । चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) ले सन् २०३० सम्म वा त्यसको केही समयपछि अमेरिकालाई उछिन्ने धेरैले विश्वास गरेका थिए । यद्यपि अहिले केही टिप्पणीकार चीनले त्यो उद्देश्य हासिल गर्न सफल भए पनि अमेरिका फेरि पनि अगाडि नै आउने दाबी गर्छन् । के ‘चीन आफ्नो चरम अवस्था’मा पुगेकै हो ?

चिनियाँ शक्तिलाई बढी या कम आकलन गर्नु दुवैले समान जोखिम बोकेका छन् । अत्यधिक मूल्यांकनले भयलाई उत्प्रेरित गर्छ र कम मूल्यांकनले उदासीनतालाई प्रोत्साहन गर्छ । दुवैको परिणाम गलत हुन सक्छ । प्रभावकारी योजनाका लागि शुद्ध मूल्यांकन आवश्यक छ ।

लोकप्रिय विश्वासका ठिकविपरीत चिनियाँ अर्थतन्त्र विश्वकै सबैभन्दा ठूलो होइन । सन् २०१४ मा चीनले क्रयशक्ति समानता (पिपिपी) का सन्दर्भमा अमेरिकी अर्थव्यवस्थालाई उछिनेको थियो । समग्र आर्थिक उत्पादनमा चीनले कुनै दिन अमेरिकालाई उछिनेको भए पनि जिडिपी मात्रै भूराजनीतिक शक्तिको सूचक होइन । वास्तवमा पिपिपी अर्थशास्त्रीले लोककल्याणको अनुमान तुलना गर्न बनाएको एक संयन्त्र हो । चीन सैन्य र सफ्ट पावर (सौम्य शक्ति) सूचकांकमा अमेरिकाभन्दा निकै पछाडि छ र युरोप, जापान एवं अस्ट्रेलियाजस्ता अमेरिकी सहयोगीलाई पनि हेर्ने हो भने चीनको सापेक्षिक आर्थिक शक्ति झनै घट्छ ।

निःसन्देह चीनले हालैका समयमा आफ्नो सैन्य शक्ति बढाएको छ । अमेरिका–जापान गठबन्धन शीतयुद्ध अन्त्य भएयता सबैभन्दा बलियो छ । तसर्थ, अमेरिकाले आफ्नो गठबन्धन र आधार कायम राख्दासम्म चीनले जापानलाई पश्चिमी प्रशान्त क्षेत्रबाट बाहिर राख्न सक्नेछैन । हो, कहिलेकाहीँ ताइवानमा चिनियाँ आक्रमणको नक्कल गर्ने युद्ध अभ्यासबाट विश्लेषकले धेरै नकारात्मक निष्कर्ष निकाल्छन् । तर, पर्सियन खाडी र हिन्द महासागरमा अमेरिकी नौसैनिक प्रभुत्वमा चीनको ऊर्जा आपूर्तिको पर्दाफास भएपछि ताइवान (वा दक्षिण चीन सागरमा) हुने नौसैनिक द्वन्द्व त्यस क्षेत्रमा मात्रै सीमित रहनेछ भनेर सोच्नु चिनियाँ नेतृत्वका लागि गल्ती हुनेछ ।

चीनले आफ्नो सफ्ट पावरमा पनि महत्वपूर्ण लगानी गरेको छ । यद्यपि सहयोग पहल र सांस्कृतिक आदानप्रदानले चीनको अपिललाई सुधार गर्न सक्ने तथ्यका बाबजुद दुईवटा महत्वपूर्ण बाधा मौजुद छन् । पहिलो, जापान, भारत र भियतनामलगायत छिमेकीसँग क्षेत्रीय विवादमा संलग्न भई चीनले विश्वभरका सम्भावित सहयोगीका रूपमा आफूलाई कम वाञ्छनीय बनाएको छ । दोस्रो, घरेलु मामिलामा चिनियाँ कम्युनिस्ट पार्टीको तानाशाही पकडले गर्दा पश्चिमा गतिशील नागरिक समाजको लाभबाट चीन वञ्चित बनेको छ । यति भन्दै गर्दा चीनको आर्थिक पहुँचको मापन महत्वपूर्ण रहनेछ ।

अमेरिका कुनै समय विश्वको सबैभन्दा ठूलो व्यापारिक शक्ति र द्विपक्षीय ऋणदाता थियो । तर, अहिले करिब सय देशले चीनलाई आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार मानेका छन् भने ५७ देशको मात्रै अमेरिकासँग व्यापारिक सम्बन्ध छ । चीनले विगत एक दशकमा बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत पूर्वाधार परियोजनाअन्तर्गत १० खर्ब डलर ऋण दिएको छ भने अमेरिकाले सहायता कटौती गरेको छ ।

अमेरिकासँग कम्तीमा पाँच दीर्घकालीन लाभ छन् । त्यसमध्ये भूगोल एक हो । अमेरिका दुई महासागर र दुई मित्रवत् छिमेकीसँग जोडिएको छ भने चीनको सबै १४ छिमेकी राष्ट्रसँग कुनै न कुनै किसिमको क्षेत्रीय विवाद छ । ऊर्जा अर्को क्षेत्र हो, जहाँ अमेरिका अगाडि छ । ऊर्जा आयातमा चीनको बढ्दो निर्भरताका विपरीत ‘सेल’ क्रान्तिका कारण अमेरिका विगत दश वर्षमा शुद्ध ऊर्जा निर्यातक बन्न पुगेको छ ।

तेस्रो, अमेरिकाले आफ्ना ठूला अन्तर्राष्ट्रिय वित्तीय संस्था र डलरको अन्तर्राष्ट्रिय भूमिकाबाट अतुलनीय वित्तीय शक्ति हासिल गरेको छ । चीनका सन्दर्भमा कुल विदेशी विनिमय सञ्चितिको सानो अंश मात्रै रेन्मिन्बीमा छ, जबकि ५९ प्रतिशत सञ्चिति डलरमै राखिएको छ । उसो त चीनले रेन्मिन्बीको विश्वव्यापी प्रभाव बढाउने अपेक्षा राखेको छ, तर एक भरपर्दो सञ्चिति मुद्राका लागि बलियो पुँजी बजार, इमानदार सरकार, कानुनी शासन चाहिन्छ । चीनमा यी अवयवको अभावका कारण रेन्मिन्बीले चाँडै डलरलाई प्रतिस्थापन गर्नेमा प्रशस्त शंका गर्ने ठाउँ छन् ।

चौथो, अमेरिकासँग जनसांख्यिकीय लाभ छ । यो एक मात्र महत्वपूर्ण विकसित राष्ट्र हो, जसको विश्वव्यापी जनसंख्या वरीयता तेस्रो स्थानमा रहने अपेक्षा गरिएको छ । आउँदो १० वर्षमा विश्वका १५ शीर्ष अर्थतन्त्रमध्ये सातमा जनशक्ति घट्नेछ, तर अमेरिकामा जनशक्ति पाँच प्रतिशतले वृद्धि हुनेछ । यता चीनले आफ्नो जनशक्तिमा नौ प्रतिशत गिरावट भोग्नेछ र चीनलाई भारतले उछिन्नेछ ।

अन्त्यमा, अमेरिकाले जैविक, ‘नेनो’ र सूचना प्रविधिमा ठूलो फड्को मारेको छ । चीनले पनि आफ्नो प्रविधि विकास केवल नक्कल नहोस् भनेर व्यापक लगानी गरिरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का मामिलामा चीनले अमेरिकालाई टक्कर दिइरहेको छ र सम्भवतः सन् २०३० भित्र एआईमा अग्रणी हुनेछ । यसमा अमेरिकाले चीनलाई उन्नत सेमीकन्डक्टरबाट वञ्चित गराएर अवरोध पुर्‍याउन खोजिरहेको छ, तर अमेरिका सफल हुनेछैन । अमेरिकालाई जनसांख्यिक विविधताको पनि लाभ छ, तर हान राष्ट्रवाद प्रधान चीनमा यो पाटो देखिँदैन । समग्रमा अमेरिका बलियो स्थानमा छ तर चीनको उदय भइरहेको छ भन्ने हौवामा खुट्टा कँपाउन थाले अमेरिकालाई गाह्रो पर्नेछ ।

(कुनै समय अमेरिकाका उपरक्षामन्त्रीसमेत रहेका जोसेफ एस नाई जुनियर हार्वर्ड विश्वविद्यालयका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

धेरै कमेन्ट गरिएका

ताजा उपडेट