२३ बैशाख २०८१, आईतवार

रेशम लगायत बन्दीहरुलाई छुटाउन ल्याइएकाे अध्यादेश जारी नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेको अध्यादेश जारी नगरेको आन्दोलन गर्ने चेतावनी दिइएको छ । बुधबार संवाद डबली पत्रकार सम्मेलनको आयोजना गरेर नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र बहुजन शक्ति पार्टीले सो चेतावनी दिएको हो ।
कार्यक्रममा बोल्दै बहुमत शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री बिसेन्द्र पासवानले राजनीतिक आन्दोलनको क्रममा विभिन्न व्यक्तिमाथि लगाइएका झुटा मुद्दा खारेज गरिनुपर्ने बताए । उनले सरकारले ल्याएको अध्यादेश सकारात्मक भएको भन्दै राष्ट्रपति भण्डारीले जारी गर्नुपर्ने धारणा राखे ।

पासवानले सरकारले अध्यादेश ल्याउनु सकारात्मक भएको तर यतिमात्रै नपुग्ने भन्दै विना कारण जेल, कारागारमा राखिएकाहरुलाई क्षतिपूर्तिसहित आममाफी दिन माग समेत गरे । पूर्वमन्त्री समेत रहेका पासवानले अध्यादेश पास नगरे राष्ट्रपतिको नाम इतिहासको कलंकित व्यक्तिको नाम सम्झिनुपर्ने अवस्था आउने चेतावनी समेत दिए । उनले भण्डारीलाई राष्ट्रपति बनाउन आफूहरूले सहयोग गरेको समेत दाबी गरे ।

त्यसैगरी नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा.विजय सैजुले जेलसजाय भोगिरहेकाहरुलाई जेलबाट रिहाइ गर्नुपर्ने भन्दै एउटा जेलमा रहेको व्यक्तिले गर्दा परिवार बर्बाद हुने अवस्थामा रहेको समेत बताए । सैजुले अध्यादेश रोक्ने षडयन्त्र भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे ।

खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुले राष्ट्रपतिले अध्यादेश तुरुन्त जारी गर्नुपर्ने धारणा राखे । अध्यादेश रोक्न खोज्नु भनेको देशमा द्वन्द्व बढाउने कुरा भएको बताए । उनले कारागारमा रहेका रेशम चौधरीलाई जनताले अनुमोदन गरी सकेको बताउँदै अध्यादेश जारी गरेर रिहाई गरिनुपर्ने बताए ।

कार्यक्रममा बक्ताहरुले शान्तिपूर्ण राजनीतिमा आउन चाहने शक्तिहरूलाई मूलधारमा ल्याउनु पर्ने आजको आवश्यकता भएको बताउँदै अध्यादेश अविलम्ब जारी गरिनुपर्ने बताएका थिए ।

धेरै कमेन्ट गरिएका