एक वर्षमा विपद्का घटनाबाट एक अर्ब २३ करोड रुपैयाँ बराबरको भौतिक क्षति

काठमाण्डौ – सरकारले एक वर्षमा विभिन्न विपद्का घटनाबाट एक अर्ब २३ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाएको छ । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले २०८० वैशाखदेखि २०८१ वैशाख २० अर्थात् हिजोसम्ममा भएका प्राकृतिक तथा गैरप्राकृतिक घटनाबाट एक अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो ।
विगत दश वर्षमा भने ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको सरकारको आँकलन छ । अहिले डढेलो प्रभावितलाई प्रमुख जिल्ला अधिकारीमार्फत् १५ देखि २० हजार रुपैयाँ उपलब्ध गराउने काम भैरहेको तथा अस्थायी आवास बनाउनका लागि कार्यविधिलाई संशोधन गरेर ५० हजार रुपैयाँ दिने सचिव अर्यालले बताउनुभयो ।
प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारणले कुल गार्हस्थ्य उत्पादनमा पनि ह्रास आएको छ । पशुचौपाया, अन्नबालीसँगै पूर्वाधार क्षतिको हिसाबले ठूलो क्षति ब्यहोर्नुपरेको छ ।